काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् ।
लौहपुरूष गणेशमान सिंहको २५ओै स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए ।
सविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो ।
स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरि काम गर्नुपर्नेमा सिंहको जोड थियो । सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने पनि सिंहको भनाई थियो ।
‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ,’ गणेशमान सिंहको २५ औं स्मृतिमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो ।’ गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमान सिंहले देखाएको बाटो हिड्न सकेमात्र लोकतन्त्र बलियो हुने दाबी गरे ।