काठमाडौं, २ असोज । कहीं नभएको जात्रा हाडीगाउँमा भन्ने उखान नेपालमा चल्तीमा छ । सर्वोच्च अदालतमा निलम्बित भनिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणले उखानलाई सान्दर्भिक बनाएको छ ।
नेपालको इतिहासमा यसअघि कहिले नभएका घटना सर्वोच्च अदालतमा घटेका छन् । प्रधानन्यायाधीशमाथि महाभियोग लगाएपनि प्रतिनिधि सभाले टुंगो लगाएन । यसले नयाँ बहस जन्मायो । महाभियोग यथावत रहने कि आफै समाप्त हुने ?
जबरा आजबाट सर्वोच्चमा काममा फर्कन खोजे । तर, अदालत प्रशासन देखि सरकार समेत रोक्न लाग्यो । सर्वोच्चमा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । जबरा रहेको बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासको गेटमै प्रहरी परिचालन गरिएको छ । निलम्बित भनिएका प्रधानन्यायाधीश नै ‘नजरबन्द’ मा रहेको विषय आएको छ । राष्ट्रिय मानवअधिकार आयोगको टोली त्यहाँ पुगेको छ ।
निलम्बित भनिएका प्रधानन्यायाधीशलाई सर्वोच्चमा रोक्न स्वयं सर्वोच्च प्रशासन लाग्नु, सरकार समेत प्रहरी प्रशासनसहित लाग्नु रोचक घटना हो । नेपालको इतिहासमा यस्तो कहिले भएको थिएन ।
यसअघि जबराले कतिपय पूर्वप्रधानन्यायाधीश, बहावलाला न्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, कानून व्यवसायीहरुबारे विवादास्पद विषयहरु बोलेका थिए । उनी आफू नांगिएर अरुलाई समेत नग्याउने कार्य गरेको विश्लेषण देशको कुना काप्चामा हुन थालेको छ ।