Logo

चोलेन्द्रशमशेरले हातखुट्टा फैलाएर हिँड्न पाउँछन् तर कसैको नाकको डाँडीमा हान्न पाउँदैनन्ः डा. भण्डारी



काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले स्वतन्त्र रुपमा हातखुट्टा फैलाएर हिँड्न पाउने भए पनि कसैको नाकको डाँडीमा हान्न नपाउने बताएका छन् ।

“हो, स्वतन्त्र रुपमा हिँडडुल गर्ने अधिकार सबै नागरिकलाई छ । चोलेन्द्रशमशेर राणाले पनि हातखुट्टा फैलाएर हिँड्न पाउँछन् तर कसैको नाकको डाँडीमा हान्न पाउँदैनन् । नेपालका संवैधानिक निकायका व्यक्तिहरुले आफू को हुँ भन्ने नै चिनेनन् । धेरैजसो व्यक्ति पदमा बस्नै योग्य छैनन् । न्यायाधीश भनेको ईश्वर हो । गल्ती गरे ईश्वरले पनि सजाय पाउनुपर्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भण्डारीले भने । उनले महाभारतमा माण्डव्य ऋषिले धर्मराजलाई श्राप दिएको दृष्टान्त पनि दिए ।

उनले सातौं संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानको कार्यान्वयन कमजोर भएको औंल्याए । डा. भण्डारीले भने, “देशको नेतृत्व संविधान कार्यान्वयनमा इमानदार बन्न सकेन र कार्यान्वयन कमजोर रह्यो । हामीले टाउको होइन पुच्छर छान्यौैं ।”

साथै कांग्रेस नेता डा. भण्डारीले नेपाली रेडियो नेटवर्कको सातौं वार्षिकोत्सवका अवसरमा पनि बधाई तथा शुभकामना दिए । उनले भने, “हामीले एनआरएन रेडियोको समाचार मात्र सुन्ने हो भने पनि मुलुक बनाउन सक्छौं । भ्रष्टाचार घटाएर सुशासन दिन सक्छौं । हामीले मिहिनेत गर्यौं भने के हुन सक्दैन भन्ने उदाहरण ऋषि धमला हो । एउटा व्यक्तिले बिहानदेखि बेलुकीसम्म यतिसम्म मिहिनेत गर्न सक्छ भने नेता, कर्मचारीले गर्न किन सक्दैनन् ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot