Logo

कारागारमा गलैँचा उद्योग स्थापना



काठमाडौँ,३ असोज । जिल्ला कारागार कार्यालय धुलिखेलले कारागारभित्र गलैँचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैँचा बुन्न सुरु गरिएको कार्यालयले जनाएको छ ।

एकपटकमा धागो तयार गर्नेसहित ५० कैदीबन्दीले गलैँचा बुन्ने काम गर्नेगरी व्यवस्थापन गरिएको कारागार कार्यालय प्रमुख गायत्री अधिकारीले जानकारी दिइन् । उनका अनुसार जिल्लाका नवराज केसीले रु ३० लाखको लगानीमा कारागारभित्र गलैचा उद्योग सुरु गरेको हो । “कैदीबन्दीलाई कारागारभित्र रहँदा समय बिताउँदै आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो”, अधिकारीले भनिन् ।

यसअघि कैदीबन्दीले मुढा बनाउने तथा पोते बुन्नेलगायतका काम गर्दै आएका थिए । अधिकारीका अनुसार कारागारभित्र खाली रहेको जमिनमा प्रविधियुक्त मेशिन जडान गरिएको छ । केसीले उपलब्ध गराएका कच्चा सामग्रीबाट तयार भएका गलैचा आफैँले चीनमा बिक्री गर्ने योजना बनाएका छन्। कारागारका दक्ष तथा अदक्ष कैदीबन्दीलाई गलैँचा बुन्न सिकाइनेछ । कारागारले केही जानेकालाई थप सीप सिकाएर पूर्ण बनाउँदै अन्यलाई सिकाउँदै रोजगार उपलब्ध गराउने योजना बनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot