Logo

“डेंगु कोरोनाभन्दा कडा छ, विद्यालय एक-दुई दिन बन्द गरेर भए पनि लामखुट्टे सफाया अभियान चलाउनु पर्‍यो”



– डा. शेरबहादुर पुन :
अहिले डेंगुले धेरैभन्दा धेरैलाई सताएको छ । डेंगु घरघरमा छ । बिरामी अस्पताल आऊन् वा नआऊन्, कुनै पनि परिवारको सदस्य छैन जसलाई डेंगु नलागेको होस् । अस्पतालमा कहिले छोराले बुबालाई ल्याउँछन्, कहिले बुबाले छोरालाई ल्याउँछन् । म सोध्छु- अब घरमा डेंगु हुन बाँकी ‍ कोही छ ? यो नै अन्तिम हो त ?
डेंगु हरेक विद्यालय, हरेक कार्यालय र हरेक सार्वजनिक स्थानमा छ । तर, प्रतिकार्य चाहिँ निराशाजनक छ । मेरो लामो अनुभवमा पहिले पहिले केही न केही त हुन्थ्यो । तर अहिले कोरोना महामारीभन्दा निष्क्रिय देख्छु । किन हो, सतर्कताका काम भएका छैनन् । ‘खोज र नष्ट गर ‘अभियान सुनेको त थिएँ । कसैले केही गरेको देख्दिनँ । मलाई नै दिक्क लागिरहेको छ ।
घरमा कोही बिरामी छ भने युद्धस्तरमा लामखुट्टे नष्ट गर्नुपर्‍यो । यो काम गर्न ढिला हुँदै छ । खाल्डाखुल्डीतिर खोज्न जानेलाई घरमा नै लामखुट्टेले टोकेर बिरामी पार्न सक्छ । डेंगु संक्रमण रोक्ने भनेको लामखुट्टेको ‘चेन ब्रेक’ गर्ने हो । तत्काल लामखुट्टे धपाउने, नष्ट गर्ने काम गर्नुपर्‍यो ।
कोरोनाभन्दा कडा छ, डेंगु । शारीरिक पीडा अत्यधिक हुन्छ । हातखुट्टा चलाउन मुस्किल हुन्छ । टाउको फुट्लाजस्तो गरी ज्वरो आउँछ । आँखाको गेडी भरखरै झर्लाजस्तो हुन्छ । खानाको कुरा गर्दा झनक्क रिस उठ्छ । खायो कि बान्ता हुन्छ । यो ग्रहदशा आठ-दस दिनसम्म रहन्छ । ज्वरोले कतिपय त बेहोस पनि हुन्छन् । अस्पताल ढिला आइपुग्ने ढल्छन् पनि ।
कतिपय बिरामी अस्पतालमा त्यही सिटामोल दिने त रहेछ नि भनेर घरमै बसिरहेका छन् । डेंगु संक्रमितको रगतमा उतारचढाव भएको हुन्छ । कतिपय बिरामीले सिटामोल नपाएको कुरा गरिरहेका छन् । सिटामोल नपाएर फ्लेक्जान, बुफ्रिन खानुपरेको सुनाएका छन् । फ्लेक्जान, बुफ्रिन आदि एन्टीबायोटिक खाँदा त्यसले अत्यधिक रक्तश्राव गराउँछ ।
कतिपयले मेवाको पात खान मिल्छ कि मिल्दैन भनेर सोधिरहेका हुन्छन् । खान मिल्ने हो कि होइन, त्यसको विषयविज्ञले भन्न सक्नुपर्‍यो । जथाभाबी केही पनि खानुहुँदैन । कतिपय बिरामीले झुल लगाएर सुतेको थिएँ, कसरी डेंगु भयो भनिरहेका हुन्छन् । डेंगु सार्ने लामखुट्टेले राति होइन, दिउँसो घर, कार्यालय वा विद्यालयमा व्यस्त भएका बेला टोक्छ । डेंगु संक्रमित बनाइदिन्छ ।
शुक्रराज अस्पतालमा एकजना विद्यार्थी औधि चिलायो भन्दै मकहाँ आएका थिए । उनले मलाई आफ्नो विद्यालयका ३०-४० प्रतिशत विद्यार्थी र शिक्षक बिरामी भइसकेको सुनाए । त्यसले मलाई गम्भीर बनायो । संक्रमित बढेको हिसाबमा एक-दुई दिन विद्यालय बन्द गरेर भए पनि लामुखट्टे सफाया अभियान चलाउनु पर्‍यो ।
डा. पुनसँग नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्