काठमाडौं, ४ असोज । विभिन्न पार्टी परित्याग गरी २७ जना युवा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमालेलाई प्रवेश गरएका हुन् ।
प्रवेश गर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु रहेका छन् । उनीहरु नेपाली काँग्रेस र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुलाई एमालेले सधैं प्राथमिकता दिएको बताए ।
एमालेले युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाई थियो । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानिलकण्ठ नगरपालिका ७ मा मतदाता र अगुवा कार्यकर्ताहरुले आयोजना गरेको छलफलमा पनि सहभागी भएको उनको सचिवालयले जनाएको छ ।