Logo

पार्टी सभापतिले एकलौटी गर्ने हो भने संघका १६५ र प्रदेशका ३३० क्षेत्रमै विद्रोही उम्मेदवार उठ्छन्ः गुरुराज घिमिरे



काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीले बुझाएको समानुपातिक बन्दसूची नसच्चिए संस्थापनइतर समूह बहिष्कारमा लाग्ने चेतावनी दिएका छन् ।
“समानुपातिक बन्दसूचीमा आफ्नो गुटलाई मात्र राख्ने हो भने प्रत्यक्षमा गठबन्धनबाट पार्टीले जति सिट पाउँछ, त्यसमा पनि आफ्नै गुटलाई मात्र राखे हुन्छ । बन्दसूची नसच्चिने हो भने हामी पार्टीलाई काँध हालेर हिँड्छौं, तर चुनाव लड्दैनौं । हाम्रो समूहका कोही पनि लड्दैनन् । पार्टी सभापतिले आफ्नो गुटलाई मात्र लडाए हुन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै घिमिरेले भने ।
आफ्नो समूहलाई समानुपातिक बन्दसूचीमा कत्लेआम गरिएकाले त्यो मान्य नहुने पनि उनले बताए । घिमिरेले थपे, “हामीले धम्की दिएका होइनौं, घुर्क्याएका पनि होइनौं । पार्टी भनेको एउटा गुटमात्र ढलिमली गर्ने ठाउँ हो ? एउटा समूहलाई बाइपास गर्ने पार्टी कसरी डेमोक्रेटिक हुन्छ ? समानुपतिक सूचीमा हामीलाई कत्लेआम गरिएको छ, त्यो हामीलाई मान्य छैन । प्रत्यक्षतर्फ पनि त्यसकै कपी गर्ने हो भने दुर्भाग्य हुन्छ । संघका १६५ सिट र प्रदेश ३३० क्षेत्रमा हाम्रा उम्मेदवार हुन्छन् ।”
पार्टी सभापति शेरबहादुर देउवाले शेखर कोइरालाजस्तो शालीन प्रतिद्वन्द्वीलाई बेवास्ता गरेको पनि उनको आरोप छ । “सूची सच्चाउने पहिलो विकल्प हो । पार्टीमा गणितीय कुरा सधैंभरि लागू नभए पनि न्यायोचित रुपमा सबैलाई समेट्नुपर्छ । आफ्नो गुटबाहेक अरुलाई अवसरमा वञ्चित गर्ने हो भने पार्टीमा आन्तरिक एकता झल्किँदैन । एउटा गुटलाई मात्र पक्षपोपण हुने गरी बुझाएको समानुपातिक बन्दसूचीमा हाम्रो शतप्रतिशत असहमति छ । यसरी नै जाने हो भने पार्टीलाई राम्रो परिणाम दिँदैन,” घिमिरेले भने ।

 



प्रतिक्रिया दिनुहोस्