Logo

पद्मा अर्याललाई धमलाको प्रश्न– एमालेले राष्ट्रपतिलाई चुनावको मुखमा संकटकाल लगाउन उक्साएको हो ?



काठमाडौं, ९ असोज । नेकपा एमालेकी सचिव पद्मा अर्यालले आसन्न निर्वाचनमा जिल्ला र क्षेत्रगत रुपमा मात्र तालमेल हुने बताएकी छन् ।
“निर्वाचनमा को-कोसँग तालमेल गर्ने भन्ने खाका आएको छैन । तलको वस्तुस्थिति हेरेर मिलाएर जानुस् भन्ने छ । यो ठाउँमा यसरी छाड्ने भन्ने कुनै सहमति भएको पनि छैन । तालमेल भए पनि जिल्ला वा क्षेत्रगत रुपमा हुन सक्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्यालले भनिन् ।
एमालेसँग राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि छलफल चलिरहेको उनले बताइन् । अर्यालले भनिन्, “कोही शक्ति छलफलमा आउँछ भने ढोका थुनेर बस्ने कुरा आउँछ ? राजनीतिमा संवाद स्वाभाविक हो । राप्रपासँग छलफल चलेको छ । टुंगिएको छैन । लोसपाले पनि वार्ता समिति बनाएको छ ।”
आफ्नो पार्टी कसैसँग नडराएको र सबैभन्दा बढी मधेस प्रदेशमा आकर्षण बढेको पनि अर्यालले औंल्याइन् । उनले थपिन्, “हामी कसैसँग डराएको छैन । बरु हामीसँग डराएर गठबन्धन बनेको हो । एमालेप्रति सबैभन्दा आकर्षण मधेस प्रदेशमा छ । पूर्वमन्त्री, सांसदहरु एमालेमा आइरहेका छन् । मधेसमा एमाले सुध्रिएको छ । एमाले कमजोर भयो भन्ने कुरा गलत भयो ।”
एमालेले राष्ट्रपतिलाई धारा २७३ मार्फत चुनावको मुखमा संकटकाल लगाउन उक्साएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा अर्यालले भनिन्, “संविधानले राष्ट्रपतिको अधिकार क्षेत्र किटान गरिसकेको छ । त्यसमा एमालेलाई मुछ्नुपर्ने कुनै कुरा छैन । उहाँले राष्ट्रका हित हुने काम गर्नुभएको छ । राष्ट्रपतिको कदम संविधानसम्मत छ । यो राष्ट्रपतिलाई कमजोर बनाउन झिकिएको फन्डा मात्र हो । संकटकाल लगाउने स्थिति गठबन्धनले नै निम्त्याएको हो, एमालेले होइन ।”



प्रतिक्रिया दिनुहोस्