काठमाडौं, असोज १० । सरकारले बढ्दो आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै निर्यात बढाउने अभियान थाले पनि सो अभियान विफल भएको छ ।
यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबीचको अन्तर अत्यधिक छ । हालसम्म सरकारी तवरबाट भएका विविध प्रयास विफल भएकै कारण हाल मुलुकमा आयात हुने वस्तु र निर्यात गरिने स्वदेशी उत्पादनबीचको अन्तर निकै बढी छ । आयात र निर्यातबीचको असन्तुलनले सरकारी प्रयास त्यसै खेर गएको देखिन्छ ।
चालू आर्थिक वर्ष २०७९/८० को वितेका दुई महिना साउन र भदौमा विभिन्न देशबाट नेपाल भित्रिने वस्तु आयातमा उच्च वृद्धि भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा झन्डै ३ खर्ब रुपैयाँको आयात हुँदा जम्मा २८ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । यो चालू आर्थिक वर्षको बितेका दोस्रो महिना भदौ मसान्तसम्मको विवरण हो ।
भन्सार विभागको सोही तथ्यांकअनुसार चालू आवको भदौ महिनामा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ बढीको आयात भएको थियो । अहिले गत आवको भन्दा १३ दशमलव शून्य १ प्रतिशतले आयात घटेको छ ।
यसैगरी, भन्सार विभागले भदौ महिनामा ३४ दशमलव ८८ प्रतिशतले स्वदेशी वस्तुको निर्यात घटेको जनाएको छ । विभागका अनुसार सो अवधिमा २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँबराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालबाट ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँबराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
चालू आर्थिक वर्षको पहिलो महिना गत साउनको तुलनामा भदौ महिनामा मात्र वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको छ । साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । भदौमा आइपुग्दा यस्तो आयात बढेर २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ । सोही तथ्यांकअनुसार साउनको तुलनामा भदौमा वस्तुको आयात ११ अर्ब रुपैयाँले बढेको हो । आयात नियन्त्रणका लागि विभिन्न प्रयास गरिरहेको सरकारले अझै विलासिताका वस्तुको आयातमाथिको प्रतिबन्ध कायमै राखेको छ । राजधानी दैनिकबाट