काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता रमेश लेखकले गठबन्धन गरेपछि पार्टीलाई सम्हाल्न गाह्रो हुने चिन्ता व्यक्त गरेका छन् ।
“नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । यसको देशभरि प्रभाव छ । संघका १६५ र प्रदेशका ३३० सिटमा एक्लै लड्दा पनि पार्टीका नेता कार्यकर्ताको चित्त बुझाउन कठिन छ । तर आधाउधि सिट छाडेर प्रतिस्पर्धामा उतार्ने कुरा निकै कठिन र जटिल हुन्छ । गठबन्धन गर्ने कुरा त ठीकै छ । तर गठबन्धनपछि पार्टीलाई सम्हालेर राख्ने र उचित व्यवस्थापन गर्ने कुरामा गम्भीर हुनु जरुरी छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने ।
कांग्रेस पार्टीभित्र सामान्जस्य कायम गर्ने कुरामा गम्भीरता देखाउन उनले गठबन्धन दलहरुलाई आग्रह पनि गरे । लेखकले थपे, “कांग्रेसभित्रको समस्या र चुनौती व्यवस्थापन गरेर जाने कुरा निकै जटिल छ । पार्टीभित्र सामान्जस्य राखेर जान उचित बाँडफाँट जरुरी छ भन्ने कुरामा गठबन्धनमा जोडिएका दलहरुले पनि गम्भीरता देखाउनुपर्छ । कांग्रेससँग बढी ठाउँ मागेर बहादुरी देखाउनुभन्दा जित्ने कुरामा बहादुरी देखाउनुपर्छ । कांग्रेसको १० वटा सिट लिने अनि ५ वटा अन्तै बुझाउने हो भने त्यसको कुनै अर्थ छैन । त्यसले कांग्रेसको संख्या त घटाउँछ नै, गठबन्धनलाई पनि कमजोर बनाउँछ । अब यो कोणबाट छलफल हुनुपर्छ ।”
चुनाव अघि गठबन्धन गर्नुभन्दा चुनावपछि मिलेर सरकार बनाएर हुँदैन भन्ने पत्रकार धमलाको प्रश्नमा नेता लेखकले भने, “हामीले संविधानमा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गर्यौं । एक्लाएक्लै चुनाव लड्ने अनि मिलेर सरकार बनाउने पनि एउटा विकल्प हो तर जजसले मिलेर सरकार बनाएका छन्, तिनीहरु मिलेर चुनावमा जाने र सरकार बनाउने प्रिपोल कोलिसन पनि अनुचित होइन ।”
गठबन्धन सिट बाँडफाँटमा मात्र लाग्दा मुख्य गर्नुपर्ने काम ओझेल परेको पनि उनले औंल्याए । कांग्रेस नेता लेखकले थपे, “गठबन्धनले आगामी ५ वर्ष सरकार बनाउँछौं भनेर मात्र पुग्दैन, ५ वर्ष सरकार चलाउँछौ कसरी भन्ने न्यूनतम कार्यक्रम पनि तय गर्नुपर्छ । आगामी ५ वर्षमा के गर्छाैं भन्दा पनि कुन सिट कसले लिने भन्ने मात्र केन्द्रित हुँदा त्यसले राम्रो सन्देश गएको छैन ।”
गठबन्धनलाई महत्त्व दिइरहँदा पार्टीभित्रको असहमतिलाई पनि ध्यान दिएर जानुपर्ने उनले औंल्याए । लेखकले भने, “सभापतिजीले टिकट वितरणका बोर्डमा सन्तुलित टिम बनाएर जिम्मा दिनुभएको छ । उहाँले माइनस गर्नुभयो त म भन्दिनँ । तर यदाकदा पार्टीभित्रको समस्यालाई गम्भीर भएर हेर्नुभएको छैन कि भन्ने पनि देखिन्छ । यिनीहरु केही पनि होइनन् भन्ने सोचाइ राख्दा पार्टीलाई ठीक ठाउँमा पुर्याउँदैन । असहमतिलाई पनि ध्यान दिएर जानुपर्छ ।”
समानुपातिक सूचीको ११० मध्ये संस्थापन इतरको १३ जना मात्र परे नि भन्ने पत्रकार धमलाको प्रश्नमा लेखकले थपे, “पार्टीभित्र विभिन्न खाले विचार मुखरित भएका छन् । पार्टी पंक्ति भौतिक र मानसिक रुपमा विभाजित भएको स्थितिमा राम्रो गर्दैन । कांग्रेसभित्र समस्या भयो भने देशमै समस्या निम्त्याउँछ । समानुपातिक सूची सुधार्ने समय छ । पहिले गठबन्धनको तालमेल टुंग्याएर १६ गतेभित्र यो काम गर्नुपर्छ ।”