काठमाडौं, १० असोज । नेपाली काँग्रेसभित्र टिकट सुनिश्चित गरेकाहरु असन्तुष्टको भेलामा सहभागी हुन छाडेका छन् । काँग्रेसको संस्थापनइतर भनिने डा. शेखर कोइराला समूहमा टिकट पाउने सुनिश्चित गरेका र समानुपातिकमा परेका या आफूनिकटस्थलाई पार्न सफलहरु भेलामा अनुपस्थित हुन थालेका छन् ।
शेखर कोइराला समूहका उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियारलगायत नेताहरु असन्तुष्टको भेलामा सहभागी हुन छाडेका छन् । शनिबार र सोमबार भेला आयोजना गर्दा समानुपातिकको सूचीमा नपरेका र परेपनि निकै तल राखिएकाहरु भेलामा सहभागी हुन थालेका छन् । प्रत्यक्षतर्फ पनि टिकट पाउने सम्भावना कम भएकाहरु असन्तुष्टको भेलामा देखिएका छन् ।
त्यसो त शेखर समूहले विद्रोहको चेतावनी दिदै आएको छ । टिकट बाँडफाँटमा ४० प्रतिशत सुनिश्चित हुनुपर्ने माग गरेपनि समानुपातिकमा शेखर समूहको १० प्रतिशत मात्र परेका छन् । प्रत्यक्षतर्फ पनि अधिकतम २० प्रतिशत पर्ने चर्चा छ । यसले काँग्रेसभित्र ठूलै विद्रोहको सम्भावना बढेको छ ।