Logo

चार मन्त्री र तीन सचिव विदेश सयरमा



काठमाडौं, असोज १३ । संघीय सरकारका चार मन्त्री र तीन सचिव यतिबेला विदेश सयरमा छन्। साताव्यापी विदेश भ्रमणमा गएका शिक्षामन्त्री भने बुधबार साँझ स्वदेश फर्किएका छन्।

विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले खर्चमा कटौतीको निर्णय गरेको छ तर मन्त्री र सचिवहरू भने विदेश भ्रमणमा गइरहेका छन्। अरूलाई पठाएर हुने कार्यक्रममा पनि मन्त्री र सचिवहहरू आफैं विदेश भ्रमणमा निस्किएका हुन्।

वन तथा वातावरणमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र संस्कृति, नागरिक तथा पयर्टनमन्त्री जीवनराम श्रेष्ठ विभिन्न कार्यक्रममा सहभागी हुन विदेश भ्रमणमा गएका हुन्। शिक्षामन्त्री देवेन्द्र पौडेल अस्ट्रियाको भियनामा आयोजित अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको कार्यक्रममा सहभागी भई बुधबार स्वदेश फर्किएका छन्। सोही कार्यक्रममा भाग लिन मन्त्री पौडेलसँगै गएकी विज्ञान सचिव प्रमिला बज्राचार्य पनि स्वदेश फर्र्किएकी छन्। शिक्षा तथा विज्ञान मन्त्रालयमा शिक्षा र विज्ञान हेर्नेगरी अलगअलग सचिवको व्यवस्था गरिएको छ।

संस्कृति, नागरिक तथा पयर्टनमन्त्री जीवनराम श्रेष्ठ अहिले क्यानडामा छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१औं त्रैवार्षिक महासभामा भाग लिन सोमबार त्यसतर्फ गएका हुन्। पर्यटनमन्त्री श्रेष्ठ एक सातापछि काठमाडौं फर्कनेछन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ सहकारीसम्बन्धी साताव्यापी कार्यक्रममा सहभागी हुन आइतबार इजरायल गएकी हुन्।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ नर्वे गएका हुन्। सुशासन तथा स्थानीय प्रशासनसम्बन्धी कार्यक्रममा सहभागी हुन संघीय मामिलामन्त्री श्रेष्ठ अघिल्लो साता नर्वे पुगेका हुन्। वन तथा वातावरणमन्त्री प्रदीप यादव यतिबेला अमेरिका भ्रमणमा छन्। उनी शुक्रबार काठमाडौं फर्कने बताइएको छ। मिथेन ग्याससम्बन्धी आयोजना हुने कार्यक्रममा भाग लिन मन्त्री यादव अमेरिका पुगेका हुन्। वनसचिव पेमनारायण कँडेल पनि अमेरिकामै छन्। उनको भ्रमण भने अर्को प्रयोजनका लागि हो।

श्रमसचिव एकनारायण अर्याल पनि अहिले विदेश भ्रमणमा छन्। स्विडेनमा एनआरएनले आयोजना गरेको श्रम बजारसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी शुक्रबार त्यसतर्फ गएका हुन्। यसैगरी एसियाली विकास बैंकको वार्षिक साधारणसभामा सहभागी हुन अर्थसचिव कृष्णहरि पुष्कर आइतबार फिलिपिन्स गएका छन्। अर्थमन्त्री जनार्दन शर्मा कोरियाबाट फर्केको २ साता नपुग्दै अर्थसचिव पुष्कर फिलिपिन्स गएका हुन्।

कृषिमन्त्री गोविन्द शर्मा एक साता विदेश भ्रमण गरी केही दिनअघि स्वदेश फर्किएका थिए। एक सचिवका अनुसार तल्लो तहका कर्मचारी आयोजकको खर्चमा र सहसचिवभन्दा माथिल्लो तहका कर्मचारी सरकारी खर्चमा विदेश जाने गर्छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot