Logo

दसैँ नजिकिएपछि गाउँ–गाउँमा सरसफाइ



काठमाडौँ,१३ असोज । हिन्दूहरूको महान् पर्व दसैँ नजिकिएपछि कैलालीका गाउँ–गाउँमा सरसफाइ गर्न थालिएको छ । नागरिकहरु स्वस्फूर्तरुपमा आफ्नो गाउँ सफा राखौँ भनी वर्षात्मा भएको झाडी तथा सडका सफा गर्न थालेका हुन् । टीकापुर १ बनगाउँ दक्षिणपुरुवामा दशैँको तयारी र डेङ्गुलगायत रोगबाट बच्न सहयोग पुग्ने भन्दै सडक सफा गरिएको हो । वडघरका खुशीराम चौधरीले लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट बच्न र गाउँ सफा राख्न स्थानीयवासी आफैँले सफाइ गर्न थालेको बताए ।

सरसफाइमा महिला पुरुषसहित करिब डेढ सय सहभागी थिए । स्थानीयवासीले करिब दुई किलोमिटर सडक सफा गरेको उनले बताए । “हामीले हरेक वर्ष चाडपर्वका समयमा सरसफाइ गर्ने गरेका छौँ, सडकमा रहेका खाल्डाखुल्डी पुर्नाका साथै सडकमा रहेका झारपात काटेका हौँ’’, उनले भने, “हामीले सडक तथा कुला मर्मतका साथै सफा पनि गर्दै आएका छौँ ।”

सरसफाइमा सहभागी सुस्मिता चौधरीले गाउँघर सफा भएमा चाडपर्व रमाइलो हुने भएकाले आफू पनि सरसफाइमा सहभागी भएको बताए । “वर्षात्मा परेका खाल्डाखुल्डीसमेत पुर्न थालेका छौँ, यस वर्ष एक साताअघिसम्म पानी परिरहेकाले जताततै पानी जमेको छ । पानी जमेका ठाउँमा लामखुट्टे जन्मने भएकाले पुर्न थालेका हौँ”, उनले भने, “सरसफाइ गरेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुलगायत रोग र अन्य रोगबाट समेत बच्न सकिन्छ ।”

उता जानकी गाउँपालिका–४ कञ्चनपुरमा समेत स्थानीयवासीले सरसफाइ गरेका छन् । कञ्चनपुरमा रहेका तीनवटा विद्युत् सहकारी संस्थाका उपभोक्ताले करिब चार किलोमिटर सडक सरसफाइ गरेका हुन् । रोशनी, शिवप्रकाश र जगन्नाथ विद्युत् सहकारी संस्थाका करिब पाँच सय उपभोक्ताले टोल–टोलमा मिलेर सरसफाइ गरेका हुन् । “उपभोक्ताले दशैँको स्वागतका लागि घरआँगन तथा सडक सरसफाइ र सडक छेउमा रहेका झालापाताले विद्युत् आपूर्तिमा करेन्ट लाग्नेजस्ता समस्याबाट बच्न सरसफाइ गरेका हुन्”, स्थानीय अगुवा परशुराम महतोले भने, “यसका साथै विभिन्न सरुवा रोगबाट बच्नसमेत सहयोग पुग्छ । हामीले धानखेती भित्र्याउने समयअघि सडकमा रहेका खाल्डाखुल्डी पुर्न सल्लाहसमेत गरेका छौँ ।”

सरसफाइ नहुँदा सडकभरि झारपातले भरिएका थिए । सडकमा भएका अनावश्यक झारपात र फोहर व्यवस्थापन गरिएको जानकी–४ का तेतरानी चौधरीले बताए । “हामीले सबैलाई घरआँगन पनि सफा गर्न भनेका छौँ, साथै हामी पनि सरसफाइमा खटेका छौँ । अब नियमित सरसफाइ गर्ने सल्लाहसमेत भएको छ ।”यसका साथै नागरिकलाई सडकमा गाईवस्तु नबाँध्न आग्रह गरिएको छ । सडकमा गाईवस्तु बाँध्दा दुर्गन्धित हुनाका साथै सडक दुर्घटना बढ्ने भएकाले सो आग्रह गरिएको तेतरानीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot