Logo

टोपबहादुर रायमाझीलाई धमलाको प्रश्नः “एमालेले तालमेल गर्ने नौ दल कुन-कुन हुन् ?”



काठमाडौं, १४ असोज । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।
“व्यक्तिगत रुपमा म गठबन्धनको विरोधी हुँ । आफ्नो एजेन्डा छाडेर गठबन्धन गर्ने कुरा आउँदैन । यो भनेको त म्याच फिक्सिङ जस्तै हो । एमालेलाई गठबन्धनको आवश्यकता देखिएको छैन । पार्टीको बहुमत आएन भने सरकार बनाउने बेला गठबन्धन हुन सक्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने ।
एमालेको कार्यदिशा, लक्ष्य र उद्देश्यसँग मेल खाने पार्टीसँग तालमेल भने हुन सक्ने उनले औंल्याए । रायमाझीले भने, “कतिपय ठाउँमा तालमेलका लागि बाटो खुला गरिएको छ । राप्रपा, लोसपा वा अन्य दलहरुसँग यति वा उति सिटमा होइन, कतै कतै तालमेल हुन सक्छ ।” समानुपातिक र प्रत्यक्षतर्फ मोटामोटी उम्मेदवारी चयन निष्कर्षमा पुर्‍याइसकेको पनि उनले बताए ।
आफू लगायत पूर्व माओवादी समूह एमालेमा असहमति वा असन्तुष्टि रहेको भन्ने कुरा फर्जी प्रचार भएको पनि रायमाझीको दाबी छ । उनले भने, “कहाँबाट यस्तो प्रायोजित मिडियाबाजी भइरहेको छ ? यो फर्जी प्रचार हो । धमिलो पानीमा माछा मार्ने दाउ हो । हामीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुनै असहमति वा असन्तुष्टि राखेको छैन । गठबन्धनमा आएको संकट समाधान गर्न नसकेर भ्रमको खेती गर्नु बेठिक हो ।”



प्रतिक्रिया दिनुहोस्