Logo

कपिलवस्तु १ मा चौथो पार्टीलाई टिकट दिए दुर्घटना हुन्छ: दीपकुमार उपाध्याय



काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले जनताको रुचि र रुझान नबुझीकन केन्द्रबाट लादिएको निर्णयले दुष्परिणाम निम्त्याउने बताएका छन् ।
“मैले लामो समय कपिलवस्तु १ मा बसेर राजनीति गरें । अहिले काठमाडौं आएर नेताहरुलाई भेट्ने प्रयास गरेको छु । उनीहरुले समय दिए भने म आफ्नो दृष्टिकोण राख्छु । जनताको रुचि र रुझान नबुझीकन राजनीतिक निर्णय गर्दैमा परिणाम आउँछ भन्ने छैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यायले भने ।
तपाईंको सिट त खोसिने भयो नि भन्ने प्रश्नमा उनले भने, “मैले आफ्नो धेरै चिन्ता गरेको छैन । व्यक्तिगत रुपमा चक्रपाणि खनाल (बलदेव)सँग मेरो राग वा द्वेष केही पनि छैन । तर कपिलवस्तु १ मा माओवादी केन्द्र चौथो दल हो । गठबन्धनका नेताहरुले यति वटा सिटमा लड्न पाइयो भनेर ‘इगो सेटिस्फाई’ हुने हो कि जित्ने वातावरण बनाउने ? हाम्रो निर्णयलाई जनताले मान्नुपर्छ भन्यो भने दुर्घटना हुन्छ । जनताले भोट दिँदैनन्, जिताउन पनि सकिँदैन ।”

उपाध्याय २०७४ मा कपिलवस्तु १ मा वाम गठबन्धनमा चक्रपाणि खनालभन्दा ९४६ मत कम ल्याएर पराजित भएका थिए । खनालले २९,७९९ ल्याएका थिए भने उपाध्यायको २८,८५३ मत मात्र आएको थियो । यसरी गठबन्धन गर्नुभन्दा आआफ्नो हैसियत अनुसार लड्नु राम्रो हुने पनि उनले सुझाए । उपाध्यायले भने, “केन्द्रको निर्णयले परिणाम आउँदैन । पार्टीभित्र ठूलो दरार आउनेवाला छ । माथिबाट लाद्दाखेरि जहाँ जहाँ गठबन्धनले हार्छ, त्यसको जिम्मेवारी कसले लिने ?
बलदेवलाई आफूले तपाईंको जित्ने स्थिति छ त भन्ने प्रश्न गर्दा हारे पनि जिते पनि लड्नुपर्छ भनेको पनि उनले सुनाए । उपाध्यायले थपे, “नेताहरुले अबुझ गरेपछि के लाग्छ ? म टिकटका लागि मरिहत्ते गर्दिनँ । जिल्लामा बसेको छु । हामी त मौन भइदिन्छौं तर नियति र प्रारब्धलाई कसले रोक्ने ?”
उम्मेदवारी मनोनयनको दिनसम्म धेरै हेराफेरी हुने पनि उपाध्यायले औंल्याए । उनले भने, “नेकपा एमाले अहिले जुवाको खाल खोलेर बसेको छ । त्यसैले आउने दिन अत्यन्त चुनौतीपूर्ण छन् । दरखास्त हाल्ने बेलासम्म अकल्पनीय अदलीबदली हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot