काठमाडौँ,१४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ द्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले चाडपर्वको समयमा डेङ्गुले जनजीवन प्रभावित बनाएकाले यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएको हो । “प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्छ”, उनले भने ।
पूर्वस्वास्थ्यमन्त्री थापाले सरकारसँग देशभरको डेङ्गु सङ्क्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्नेबारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे । सरकार महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको भनाइ थियो ।
महामन्त्री थापाले पार्टीभित्र सही ढङ्गले न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आएको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टी निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको बताए ।
पार्टीभित्रका नेताले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढङ्गले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको सङ्घर्षको आवश्यताको बोध हुन थालेको बताए । उनले देशको वर्तमान मुद्दा नेपालका युवाले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताए। रासस