काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई मिलाएर लैजान तयार रहेको बताएका छन् । “पार्टी सभापतिजी पार्टी कमजोर नहोस् भनेर नै गठबन्धन गर्न तयार हुनुभएको हो । डा. शेखर कोइरालालाई पनि पार्टीकै चिन्ता होला । सबैको इच्छा पार्टी बलियो बनाउने हो । हामी अरु दलसँग गठबन्धन गर्छौं भने आफ्नो पार्टी किन नमिलाउने ? सभापतिजीले पनि आफ्नो पार्टीका साथीहरुलाई अपमान गर्नुहुन्न, साथीहरुले पनि अरुसँग मिलेर सभापतिजीलाई अपमान गर्नुहुन्न,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने ।
उनले सबै नेताको सहमतिका साथ समानुपातिक सूची निर्वाचन आयोगमा जाने दाबी पनि गरे । खतिवडाले थपे, “सबैलाई न्याय हुनुपर्छ भन्ने महामन्त्रीजीको कुरामा मेरो विमति छैन । त्यसैले नेताहरु सहमतिका साथ निर्वाचन आयोगमा पुग्नुहुन्छ भन्ने मेरो विश्वास छ । भरे तपाईंले नै न्यूज ब्रेक गर्न पाउनुहुन्छ ।”
संस्थापन इतरका नेताहरुले आरजु देउवा र मञ्जु खाँडलाई समानुपातिक सूचीबाट झिक्नुपर्छ भनिरहेको छ नि भन्ने प्रश्नमा खतिवडाले भने, “उहाँहरुलाई कसैकी श्रीमती मात्र भन्दा अन्याय हुन सक्छ । उहाँहरुको आफ्नै योगदान पनि छ ।”
गठबन्धन दलहरुले अन्तिम समयसम्म बढीभन्दा बढी नेताहरुलाई ‘एडजस्ट’ गर्न घुर्क्याउने र थर्काउने गरिरहेको पनि उनले औंल्याए । खतिवडाले भने, “तर पाँच दलीय गठबन्धन पाँच औंलाको मुठी कसेर अगाडि जान्छ र मुलुकमा दुई तिहाइ नजिकको सरकार बन्नेछ ।”
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टालाटुली बटुली भारेभुरे टाकुरे नौ दल मिलाएर चुनावमा जान लागेको आरोप पनि लगाए । ढाँट र चलाखीको राजनीति जनताले बुझिसकेको उनको भनाइ छ ।