ज्योति बानियाँ-
हामी प्रत्येक १५–१५ दिनमा कन्जुमर इन्डेक्स बनाउँछौं । दसैंको मौका छोपेर बितेको २ हप्तामा मात्र ३३ प्रतिशत मूल्यवृद्धि भएको छ । दुई वर्षको बीचमा भन्ने हो भने त ३ सय प्रतिशत भएको छ ।
मूल्यवृद्धिको प्रमुख कारण माग र आपूर्तिबीचको असन्तुलन हो । आज सबैले खसी छानिरहेको अवस्था छ । खसीको मूल्य अचाक्लि बढिरहेको छ । पर्सिबाट ह्वात्तै घट्छ ।
यो चुनावी वर्ष हो । कुनै पनि राजनीतिक दलका उम्मेदवारले आफ्नो गोजीबाट झिकेर खर्च गर्दैन । व्यापारिक घरानाले घरबाट ल्याएर राजनीतिक दललाई चन्दा दिने होइनन् । चन्दा पनि वस्तुको मूल्यमा जोडेका हुन्छन् ।
डिलक्स बसको एउटै टिकट ४ जनालाई बेचिएको छ । ३ सय पर्ने टिकटलाई ३ हजारमा बेचिएको छ । ठगी गर्नेलाई उपभोक्ता संरक्षण ऐन छ । अब उपभोक्ता सचेत हुनुपर्छ । उजुरी मात्र गरिदिए पुग्छ । यस्तो बेला फाइदा लिने व्यापारीले हो । बिल लिने हो भने सहायक सीडीओको हटलाइन समेत दिइएको छ । तत्काल तीन लाखसम्म जरिवाना गर्न सक्छ । हजारको ठाउँमा लाख जरिवाना तिर्नुपर्छ ।
सरकारले खोज्यो भने व्यापारीले आयातित बस्तुमा भन्सार मूल्य र बिक्री मूल्य दिनुपर्छ । उपभोक्ताले खोज्यो भने पनि दिनुपर्छ । यहाँ बीचको मान्छे मोटाइरहेको छ । राष्ट्रिय उत्पादन छ भने फ्याक्ट्रीको मूल्य हेर्नुपर्छ । गृह मन्त्रालयले एकै दिन ४१–४२ दिन बिचौलियालाई नियन्त्रणमा लिएको खबर आएको छ । तर बिहान समातेर बेलुकी छाडेको सुनिएको छ । कम्तीमा एक रात लगेर राख्नुपर्छ ।
बारा र पर्सामा बेकरी बनाउने रसायनबाट उद्योग बनाइएको नक्कली घिउ भेटिएका छन् । पैसा असली लिने र खाद्यचाहिँ नक्कली बेच्नु अपराध हो । यहाँ कतिपयले पत्रकारिताका नाममा व्यापारीको दलाली गरिरहेका छन् ।
सरकारले मूल्यवृद्धि र ठगी नियन्त्रणको प्रयास नै गरेन । व्यापारीलाई खुला छाडिदियो । गृह प्रशासन पनि नभएको भए देश कता पुग्थ्यो होला ? कमसेकम उजुरी गरे कारबाही हुन थालेको छ । देखिने गरी छेक्ने काम भएको छैन ।
उपभोक्ता अधिकार संरक्षण मञ्च अध्यक्ष बानियाँसँग नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित