काठमाडौं, १६ असोज । राष्ट्रिय नागरिक पार्टी र पुर्नजागरण पार्टी नेपालबीच चुनावी एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दुवै पार्टीले एकता घोषणा गरेका हुन् । दुवै दल समानुपातिक र प्रत्यक्षतर्फ साझा चुनाव चिन्ह मैनवत्ती लिएर जाने घोषणा समेत भएको छ ।
पुर्नजागरण पार्टी नेपालका अध्यक्ष श्यामबाबु गौतम र राष्ट्रिय नागरिक पार्टीका महामन्त्री वि.वि. थापाले संयुक्त रुपमा पत्रकार सम्मेलनमार्फत् चुनावी एकताबारे जानकारी गराएका हुन् । दुवैले बागमती प्रदेशलाई केन्द्रित गरेर ६६ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार उठाउने जानकारी समेत दिए ।
कार्यक्रममा पुर्नजागरण पार्टी नेपालका अध्यक्ष श्यामबाबु गौतमले आफूहरुको मैनवत्ती साझा चिन्ह भएको बताए । ८० लाख नेपाली देशबाहिर रहेकाले उनीहरुले मतदान गर्न पाउनुपर्नेमा जोड दिए । युवाहरुको सरकार केन्द्र देखि प्रदेशसम्म बनाउनुपर्ने बताए । उनले भने, चुनाव खर्चिलो भएको छ यसमा व्यापक सुधार गर्न जरुरी छ ।
राष्ट्रिय नागरिक पार्टीका महामन्त्री वि.वि. थापाले शिक्षा तथा रोजगारको सुनिश्चितता आफूहरुको मुद्दा रहेको बताए । युवा तथा महिलाको अधिकार सुनिश्चित गरी आधुनिक व्यवसायिक कृषिको विकास गरिनुपर्ने बताए । गरिब, दुःखी, किसान, मजदूरको नीति तथा पद्धतिको निर्माण गर्ने उद्देश्य रहेको बताए । देशमा ८७७ वटा संघ र प्रदेश सांसद आवश्यक नभएको भन्दै ७७ जिल्लामा ७७ सांसद भए पुग्ने बताए ।
कार्यक्रमको संचालन राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय सदस्य विकास उप्रेतीले गरेका थिए ।