एजेन्सी, १७ असोज । पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि ब्राजिलको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । अब वर्तमान राष्ट्रपति जेर बोल्सोनारो र पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाबीच निर्णायक प्रतिष्पर्धा हुनेछ ।
पहिलो चरणमा लुलाले ४८ र बोल्सोनारोले ४३ प्रतिशत मत ल्याउन सके । अब चार हप्तापछि निर्णायक चुनाव हुनेछ ।
लुलाले पहिलो चरणमै बहुमत ल्याउने अनुमान गरिएपनि सकेनन् । बोल्सोनारोले चुनावको अन्तिम समयतिर केही मत बढाउन सक्दा लुला चुके । सिमोन टेबेटले ४ र सिरो गोमेजले ३ प्रतिशत मन प्राप्त गरे ।
लुला वामपन्थी र बोल्सोनारो दक्षिणपन्थी नेता हुन् । लुला सन् २०१८ को चुनावमा प्रतिष्र्धा गर्न खोज्दा जेलमा थिए । उनले उम्मेदवार बन्न पाउने गरी अदालतले फैसला गरेपछि यसपटक मैदानमा उत्रिएका हुन् ।
टेलिभिजन बहसमा लुलालाई बोल्सोनारोले चोर भनेका थिए । लुलाले बोल्सोनारोलाई पागल भने ।