बखतियार अलि : सर्लाही २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका छन् । महतो २०७४ सालमा निर्वाचित भएको धनुषा क्षेत्र नं. ३ पार्टीका नेता अनिल झालाई छाड्दै उनी आफ्नै गृह जिल्ला सर्लाहीको क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका हुन् ।
महतोको घर क्षेत्र नं. १ को चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा पर्छ । राजेन्द्र महतो संग प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) मा कांग्रेस बाट बहुचर्चित लोकप्रिय नेता जंगिलाल राय (ख) मा लोसपाबाट युवा नेता मेथुर चौधरी आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नु भएको छ ।
उनको सत्ताधारी गठवन्धनमै रहेको नेपाल समाजवादी पार्टीका नेता एवं निवर्तमान सांसद महेन्द्र राय यादवसँग प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नं. २ कै हरिपूर्वा नगरपालिका घर भएका यादव डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा भएपनि माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमती भएको छ । कांग्रेस र लोसपाबीच भएको सहमतीमा सर्लाहीको २ नम्वर क्षेत्रको संघीय निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने पुर्वमन्त्री राजेन्द्र महतोले जनाएको छ ।
प्रदेश सभाको लागि महेन्द्र यादव संग क्षेत्र नं. २ क मा शुनिल कुमार साह तथा क्षेत्र नं. २ ख मा कौशल किशार यादवले मनोनयन पत्र दर्ता गराएको हो । त्यस्तै क्षेत्र नं. २ बाट नेकपा एमाले सर्लाहीका प्रतिनिधीसभाको लागि राजनारायण शाह र जसपा सर्लाहीबाट प्रदेश सभाको लागि २ को ख बाट अशोक यादव २ को क बाट प्रदेशसभामा एमालेबाट किशुनदेव यादव उमेदवारी दर्ता गराएको हो ।
सत्ताधारी गठबन्धन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट संविधान सभा सदस्य नरेन्द्र साह तथा प्रदेश सभा क बाट नेकपा एकीकृत समाजवादीका डिल्ली प्रसाद उप्रेती र ख बाट नेपाली कांग्रेसका हरेस महतोको उम्मेद्वारी दर्ता भएको छ ।
नरेन्द्र साह र डिल्ली प्रसाद उप्रेती उम्मेद्वारी दर्ता गर्न हरिवन स्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका थिए भने हरेश महतोको टिकट सुनिश्चित हुन निकै ढिला भएकाले काठमाडौबाट आउन नभ्याएकाले वारेस मार्फत उम्मेद्वारी दर्ता गरेका छन् । सत्ताधारी गठबन्धनका नेता कार्यकर्ताहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीको झण्डा फहराउँदै उम्मेद्वारहरुलाई लिएर निर्वाचन अधिकृतको कार्यालय आएका थिए ।
विपक्षी गठबन्धन अन्तर्गत संघीय सांसदको उम्मेद्वारमा नेकपा एमालेका हरि उप्रेती तथा प्रदेश क मा गणेश प्रसाद प्रसाईं र ख मा जसपाका संजय यादवको उम्मेद्वारी दर्ता भएको छ । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ बाट पूर्व मन्त्री तथा नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका पूर्व सभापति नागेन्द्र कुमार यादव र प्रदेश सभा निर्वाचन क्षेत्र नं. ४ (ख) मा मधेश प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्री तथा नेपाली कांग्रेस प्रदेश कार्यसमितिका उप–सभापति विरेन्द्र प्रसाद सिंह क्रमशः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको लागि उम्मेदवारी दर्ता गराएको छ ।
सोही क्षेत्रका नेपाली काङ्ग्रेसका नेता टिकट नपाएपछि डा. अमरेश कुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेद्बारी दिएको छ । त्यस्तै सर्लाही क्षेत्र नःं १ मा दलीय गठबंधनका प्रतिनिधि सभामा राम प्रकाश चौधरी र क्षेत्र नः १ को (क ) मा प्रदेश सभा सदस्यमा उपेन्द्र महतो र क्षेत्र नः १ को (ख) बाट प्रदेश सभा सदस्यमा बेची लुगेली गठबंधनको तर्फबाट मनोयन पत्र दर्ता गराएको हो ।
विपक्षी गठबन्धन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट संविधान सभा सदस्य हरि प्रसाद उप्रेती तथा प्रदेश सभा क बाट नेकपा एमालेका गणेश प्रसाद प्रसाईं र ख बाट जनता साजवादी पार्टीका संजय यादवले उम्मेद्वारी दर्ता गराएका छन् ।
विपक्षी गठबन्धनका नेता कार्यकर्ताहरु एमाले र जसपाको झण्डा फहराउँदै उम्मेद्वारहरुलाई लिएर निर्वाचन अधिकृतको कार्यालय आएका थिए । नेकपा एमालेका नेता मानबहादुर खड्काले सर्लाही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले–जसपा गठवन्धनबाट निवर्तमान सांसद प्रमोद साहले टिकट पाएपछि खड्काले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।