काठमाडौं, असोज २४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै आईतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावकमा डा भट्टराई र समर्थकमा श्रेष्ठ रहेका छन् । उम्मेदवारी दर्तापछि प्रचण्ड चुनाव राजनीति बनाउन व्यस्त छन् । उनले आईतबार गोरखा पुगेर पूर्व–पश्चिम र मधेस–पहाड घुम्दै चुनाव लड्ने आफू नेपालको इतिहासमै पहिलो व्यक्ति भएको प्रतिक्रिया दिएका छन् । २०६४ यता निरन्तर संसदमा प्रतिनिधित्व गरिरहेका प्रचण्ड २०६५ सालमा प्रधानमन्त्री बनेका थिए ।
२०६४ साल यताका तीनवटा निर्वाचनमा काठमाडौं, सिरहा र चितवनबाट संसद्मा प्रतिनिधित्व गरेका प्रचण्ड २०५७ सालदेखि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहदै आएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
उम्मेदवार मनोनयनपछि प्रचण्ड गठबन्धनको शिर्ष नेताहरुसंग गहन छलफलमा जुटेका छन् । पार्टीका उच्च तहका नेताहरुसंगको छलफललाई समेत उनले तिव्रता दिएका छन् ।
यसअघि ०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका प्रचण्डले यसपटक चितवनबाट नै दोहोरिने बताउँदै आए पनि अन्तिम अवस्थामा आएर गोरखा रोजेका हुन्।