Logo

सडकको दुर्दशाले यात्रुलाई सकस



काठमाडौं, असोज २४ । मुलुकका अधिकांश राजमार्ग नियमित मर्मतसम्भार नहुँदा यो वर्ष दशैं मनाउन घर जाने र फर्कने सर्वसाधारणले निकै सास्ती बेहानुपर्‍यो। बर्सातको पानीले भत्काएको हुँदा नेपालका अधिकांश मुख्य राजमार्गहरू कतै सग्लो देखिँदैनन्।

दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए।

गाउँघरमा दशैं मनाएर आफ्नो कर्मथलोमा फर्किनेहरूले बाढीपहिरो र खाल्डाखुल्डीयुक्त ‘एम्बुस’जस्तो सडककै कारण आउजाउमा निकै समस्या देखिएको छ। सामान्य अवस्थामा पोखरा–काठमाडौं माइक्रो बसमा यात्रा गर्दा ६ घण्टामा सहजै यात्रा गर्न सकिन्थ्यो तर अहिले सोही रूटमा यात्रा गर्न कम्तिमा पनि १२ घण्टाभन्दा धेरै समय लाग्ने गरेको छ।

संघीय सरकारले मुलुकभरका अधिकांश ठूला राजमार्गका सडकहरू विस्तार तथा स्तरोन्नतिको ठेक्का लगाउँदा पनि बेहाल देखिएको छ। विशेष गरेर बुटबल(नारायणगढ (१०६) किलोमिटर सडक खण्ड, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, पासाङल्हामु राजमार्ग, पूर्व–पश्चिम राजमार्गका अधिकांश स्थानमा यात्रा गर्ने सर्वसाधारणले धेरै नै सास्ती खेप्नुपरेको थियो। बर्सातको कारणले सडक माथिल्लो भागबाट खसेको ढुंगामाटासहितको गेग्य्रान थुप्रिएर सडक अवरूद्ध भएको थियो।

ट्राफिक इन्जिनियर आशिष गजुरेलले सरकारले नियमित रूपमा राजमार्गका सडक नियमित मर्मतसम्भाररस्तरोन्नति नगर्दा सर्वसाधारणले हैरानी खेप्दै आउनुपरेको बताए। ‘सरकारले राजमार्गको सडक पनि ट्र्याक खने जसरी विस्तार गर्दै आइरहेको छ। त्यसैले पनि राजमार्गका सडक खाल्डाखुल्डी र असुरक्षित बन्दै आइरहेका छन्,’ उनले भने ‘सरकारले राजमार्ग निर्माणको मात्रै होइन्, नियमित मर्मतसम्भारको काम पनि तालिका बमोजिम गर्नुपर्ने हुन्छ तर यहाँ नियमित मर्मतसम्भारको अभावमा नेपालका सडक असुरक्षित हुँदै आइराखेका छन्।’ सरकारले राजमार्गका सडक सेफ्टीमा विशेष चासो दिनुपर्ने बताए।

सडकको दुरावस्था र यान्त्रिक गडबडीका कारण फूलपाती ९असोज १६० यता बिहीबारसम्ममा ५ सय ५६ वटा सवारी दुर्घटना भएका छन्। बितेका पाँच दिनमा मात्रै ५४ जनाको ज्यान गएको र १ हजार ५७ जना घाइते भएको नेपाल प्रहरीका अनुसार छन्।

कुलेसा तथा खहरे खोलाको पानीले सडक खोतल्दा पनि धेरै नै समस्या सिर्जना गरेको थियो। लामो दूरीको यात्रा गर्ने यात्रुले ८ देखि १० घण्टाभन्दा धेरै समयको जामको सामना गर्नुपरेको थियो। अधिकांश पहिरो र बाढीले क्षतविक्षत भएको सडक एकतर्फी रूपमा मात्रै सञ्चालन गरिएको थियो।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले दशैंको बेला बर्सात भएकाले पनि राजमार्गका सडकको अवस्था झन् दयनीय भएको बताउँछन्। ‘दशैंमा केही ठाउँमा त मर्मतसम्भार गरेका थियौं तर बर्सातको भेलसहित आएको बाढीपहिरोले मर्मतसम्भार कहाँ थेग्न सक्छ १’ उनले भने ‘ढुंगामाटोसहितको गेग्य्रानले सडकलाई छोपी दिँदा सडकको यो दुर्दशा देखिएको हो।’ सडक विभागका महानिर्देशकले दशै अघि मर्मतसम्भार गरेको दाबी गरेपनि राजमार्गको सडकको बेहालले उनको भनाइलाई चुनौती दिने गरेको छ। File Photo/नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्