Logo

गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावक भएर उभिन्छुः विश्वप्रकाश शर्मा



काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभिन्न विकल्प हुँदाहुँदै आफू तेस्रो पटक झापा १ बाट चुनाव लडेको बताएका छन् ।
‘म अघिल्लो पटकको उपविजेता हुँ । एमाले र माओवादीको गठबन्धनका बाबजुद पार्टीले समानुपातिकमा २४ हजार मत पाएको थियो, मैले प्रत्यक्षमा ९ हजार बढी मत पाएँ । मेरा सामु विकल्प पनि आएका थिए । काठमाडौं ५ मा लडेको भए ठूला घरमा बस्ने अनि बुद्धिजीवीको सांसद हुने रहेछु । बगानमा टोकला पत्ती टिपिरहेका दिदी-बहिनी-भाउजू, काँकडभिट्टामा धनीपुर्जा खोजिरहेका दाजुभाइ, बाहुनडाँगीमा जंगली हात्तीबाट पीडितको आवाज बोल्न नपाउने रहेछु । त्यसैले म आफ्नै गाउँ फर्किआएँ,’ प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग झापामा कुरा गर्दै महामन्त्री शर्माले भने ।
उनले झापा १ को परिणाम सत्ता गठबन्धनको पक्षमै आउने दाबी गरे । शर्माले थपे, ‘म जन्में यहीं, हुर्कें यहीं, मर्ने पनि निन्दा नदीको किनारमै हो । यहाँका नागरिकले फराकिलो हृदय बनाएर बसेका छन् । जनताले गाडी कुदाउन सक्छ कि सक्दैन भनेर दुई पटक जाँचे । लाइसेन्सको ट्रायल फेल भएँ । २०७० र २०७४ मा आफूले हारे पनि जितेको साथीलाई मुस्कुराउँदै माला लगाइदिएँ । मलाई विश्वास छ, यस पटक गठबन्धन पनि भएकाले मलाई माला लगाउने अवसर मिल्ने छ ।’

‘ज्योतिषीले २०७७ देखि १५ वर्ष राम्रो साइत छ है भनेका छन्’

ज्योतिषशास्त्र अनुसार पनि आफूले जित्ने शर्माले बताए । उनले भने, ‘मलाई धर्म, संस्कृति, ज्योतिष मात्र होइन, जनताको हृदयमा पनि विश्वास छ । मैले सार्वजनिक रुपमा ज्योतिषशास्त्रको कुरा गर्न त मिल्दैन होला । तर ज्योतिषीले २०७७ देखि १५ वर्ष राम्रो साइत छ है भनेका छन् । २०७८ मा पार्टीको महामन्त्रीको विजयबाट त्यो पुष्टि पनि भयो ।’
कांग्रेस महामन्त्री शर्माले रिङरोडको परियोजना अघि बढाएको र सडक, सुकुम्बासी, जंगली हात्तीका क्षेत्रगत समस्या समाधान गर्न चाहेको पनि बताए । आफ्नो पार्टीको घोषणापत्रमा ७५ वर्षमाथिका नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क हुने विषय समेटेको पनि उनको कथन छ ।
आफूलाई पार्टी नेता कृष्णप्रसाद सिटौलाको पनि साथ र समर्थन रहेको पनि शर्माले बताए । उनले भने, ‘उहाँ मेरो नेता हो । पूर्वमहामन्त्री हो । पार्टीको टिकट बाँड्दादेखि झापाको चन्द्रगढी विमानस्थल ओर्लिंदै गर्दा सँगै छौं । चुनावी रणनीति सँगै बसेर बनाएका छौं । म महामन्त्री मात्र होइन, प्रधानमन्त्री बने पनि उहाँलाई सम्मान गर्छु र उहाँको आशीर्वाद लिन्छु ।’
कांग्रेसबाट अबको प्रधानमन्त्री को हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, ‘मैले पहिलो पटक निर्वाचित भएर गइसकेपछि आफैंलाई प्रधानमन्त्रीमा अघि सार्नु व्यावहारिक हुँदैन । त्यसैले विश्वप्रकाश शर्मा गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावक भएर उभिन्छ । गगन थापा आन्दोलनमा सफल भए, जनताका बीचमा गएर पटकपटक निर्वाचित भए र मन्त्री भएर पनि बेदाग भएर फर्किए । त्यसैले उनलाई प्रधानमन्त्री बनाउन केही समस्या छैन ।’

‘ज्वरो आउँदा आउँदै कांग्रेस मर्निङ वाकमा निस्किसक्यो’
महामन्त्री शर्माले पार्टीको टिकट वितरणप्रति आत्मालोचित भएको पनि बताए । उनले भने, ‘पार्टीको टिकट वितरण शतप्रतिशत त राम्रो भएन । असन्तुष्टिहरु छन् । त्यसमा म आत्मालोचना गर्छु । अर्को पटक हामी प्राइमरी इलेक्सनबाटै उम्मेदवार छनोट गर्छौं । पुरानो कांग्रेस बिदा लिने क्रममा छ, नवीन कांग्रेस पलाउँदै छ । ज्वरो आउँदा आउँदै कांग्रेस मर्निङ वाकमा निस्किसक्यो । अब संसद्मा ठूलो दल भएर आउँछ ।’
एमालेभन्दा कांग्रेस लोकतान्त्रिक पार्टी भएको दाबी पनि उनले गरे । शर्माले थपे, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग प्रतिस्पर्धा गरेका भीम रावललाई टिकट दिनुभएन । हाम्रा पार्टी सभापतिले आफ्ना प्रतिस्पर्धीलाई टिकट नदिने होइन, रातरातभर सँगै बसेर टिकट बाँड्नुभयो । एमालेले टिकट बाँड्ने बेला भीम रावल कहाँ हुनुहुन्थ्यो ?’
चुनाव अघि र पछि पनि सत्ता गठबन्धन रहिरहने विश्वास उनले व्यक्त गरे । शर्माले भने, ‘यो गठबन्धन भूतप्रभावी होइन भविष्य प्रभावी छ । एक समय गठबन्धन बाध्यता थियो । अर्को समय आवश्यकता भयो । अहिले बाध्यता र आवश्यकताबीचको कोलाज हो ।’



प्रतिक्रिया दिनुहोस्