Logo

केपी ओलीको कटाक्षः ‘रवीन्द्र मिश्र बैंसैमा बूढो हुनुभो’



काठमाडौं, २५ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा पाँच दलीय गठबन्धनको कन्तबिजोग हुने दाबी गरेका छन् ।

‘एमालेले जे जस्ता नीति लिएको छ, ती स्पष्ट छन् र महान् छन् । जहाँ नेपाली छन्, त्यहाँ एमाले छ । दिनदिनै एमाले प्रवेशको लहर चलिरहेको छ । हामीप्रति जनताको आशा, विश्वास र भरोसा व्यवहारबाटै पुष्टि भइसकेको छ । नेकपा एमालेको भिजन र एक्सन नै देश बनाउने हो । म सिटको कुरा तोक्दिनँ । आउँदो सरकार एमालेले बनाउँछ । गठबन्धनलाई बहुमतको सरकार धेरै टाढाको कुरा हो । सोम शर्माका पिताको हालत हुनेछ । उहाँहरु कमजोर प्रतिपक्ष भएर बस्नुहुन्छ,’ प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग झापामा कुरा गर्दै ओलीले भने ।

एमाले अध्यक्ष ओली आफू आफ्नो रहरले भन्दा पनि पार्टी र जनताको भावना गर्दै प्रधानमन्त्री भएको दाबी गरे । उनले भने, ‘म दुई चोटि प्रधानमन्त्री भइसकेको छु । अब फेरि प्रधानमन्त्री बन्ने मेरो इच्छा होइन । पार्टीले जनता र कार्यकर्ताको भनाइ सुनेर मेरो नेतृत्वमा देश अघि बढ्नु उपयुक्त हुन्छ भन्यो । जनताले त्यसलाई स्वागत पनि गरेका छन् । फेरि पनि भन्छु- मैले हुन्छु भनेको होइन, साथीहरुले बनाउन चाहनुभएको हो ।’

‘उपेन्द्रजी प्रचण्डजस्तो धोकेवाज होइन’

तपाईंले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्नुभएको छ, अब सरकार बनाउन जसपाले साथ देला भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘उपेन्द्र यादव प्रचण्डजस्तो मानिस होइन । उहाँले २०७४ मा प्रचण्डले प्रधानमन्त्री बन्ने चलखेल गर्दा धोकाको राजनीति गर्न चाहनुभएन । जसपासँगको सहकार्य चुनाव अगाडिका लागि पनि हो, पछाडिका लागि पनि हो ।’ साथै ओलीले माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्डसहितको एमालेको सरकार सम्भव नभएको पनि बताए ।

‘प्रधानमन्त्री हुन नदिन प्रचण्डको नांगो षडयन्त्र’

प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न नदिन नांगो षड्यन्त्र गरेको आरोप पनि उनले लगाए । ओलीले थपे, ‘अघिल्लो पटक हामीले पहिले प्रचण्डसँग गठबन्धन गरेका थियौं । त्यसको तीतो अनुभव छ । प्रचण्डले निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवलाई दुरुपयोग गर्नुभयो । निर्वाचन परिणाम राष्ट्रपतिलाई नपठाईकन घर्रामा राख्न लगाएर नांगो षडयन्त्र गर्नुभयो । अर्को गठबन्धन बन्न नसकेपछि प्रचण्डले सरकारमा सहभागी हुन नसक्ने भन्नुभयो । समर्थनको पत्र समेत मुस्किलले दिनुभयो । उहाँलाई बाध्यतावश घिसारेर एकतामा ल्याइयो । दुई वर्षपछि के भयो ? तपाईंलाई थाहै छ ।’

‘भीम रावलले मात्र टिकट नपाएको होइन’

एमालेभित्र टिकट वितरणमा भीम रावल, घनश्याम भुसाल आदि नेताहरुमाथि अन्याय भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा ओलीले भने, ‘भीम रावल २०४८ देखि २०७४ सम्म लडिरहनुभएको छ । सधैं सबैले टिकट पाउँदैनन् नि । हामी व्यक्तिमा केन्द्रित छैनौं । जम्मा १६५ ठाउँ छ । सबै नेपालीलाई टिकट दिन सकिनँ । एमालेलाई मात्र दिएँ । भीम रावल मात्र किन ? युवराज ज्ञवाली, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, भीम आचार्य पनि चुनाव लडिरहनुभएको छैन नि ।’

‘घनश्याम भुसाल टिकटका लागि मात्र एमालेमा बस्नुभएको रहेछ’

घनश्याम भुसाल एमालेमा टिकटका लागि मात्र बसेको आरोप पनि ओलीले लगाए । उनले भने, हामीले हिँडेको बाटो त बलिदानको हो । त्यतिबेला मन्त्री, प्रधानमन्त्री वा टिकटको त परिकल्पना पनि थिएन । उहाँले आवेशमा परित्याग गरेको हुन सक्छ । उहाँलाई एमाले राम्रो लागेन होला । नौ लाख सदस्यमध्ये एकाधले परित्याग गर्नु सामान्य भएको पनि ओलीले बताए ।

‘प्रभु शाहले षडयन्त्र गरे’

पार्टीका स्थायी समिति सदस्य प्रभु शाहले एमालेलाई सिंगो जिल्ला खाली गराउने षडयन्त्र गरेको आरोप पनि ओलीले लगाए । उनले भने, ‘उहाँले खल्तीमा टिकट राखेर ५ बजेपछि वारेस पठाएर एमालेमाथि गम्भीर धोका र बेइमानी भयो । उहाँले लामो समयदेखि संदीग्ध गतिविधि गरिरहनुभएको रिपोर्ट आएको थियो । उहाँको हिमचिम र भेटघाट अनि नियत खराब थियो । उहाँ सिंगै जिल्ला एमाले खाली गराउने षडयन्त्रमा हुनुहुँदो रहेछ ।’

लोसपा राष्ट्रिय पार्टी बन्ने सम्भावना समाप्त भयो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राष्ट्रिय दल हुन नसक्ने ठोकुवा पनि उनले गरे । ओलीले थपे, ‘महन्थजी कांग्रेसको पछिपछि लाग्नुभयो । हामीसँग १५, २० सिट माग्नुभएको थियो । त्यो सम्भव नभएपछि दुईचार सिटका लागि शेरबहादुर देउवाको ढोकामा धर्ना दिएर बस्नुभयो । उहाँहरुलाई बाध्यता वा दबाब थियो होला । तर लोसपाको राजनीतिक भविष्य समाप्त भयो । लोसपा राष्ट्रिय पार्टी बन्ने सम्भावना समाप्त भयो ।’ साथै ओलीले जसपासँग गठबन्धन नभईकन केही ठाउँमा तालमेल गरेको दाबी पनि गरे ।

‘बाबु (स्वतन्त्र) हरुले यसो अलिअलि राजनीति सिक्न खोजेका छन्’

अहिले स्वतन्त्र उम्मेदवारहरुले दलहरुलाई चुनौती दिएका छन् नि भन्ने प्रश्नमा ओलीले भने, ‘म स्वतन्त्रले भाग लिन चाहँदा हतोत्साही पार्न चाहन्नँ । बाबुहरुले यसो राजनीति अलिअलि सिक्न खोजेका छन् । यसमा हामीले किन टाउको दुखाउने ? सिक्दै छन् । अभ्यास गर्दैछन् । दलहरु सफल भएनन् नभने त स्वतन्त्रको व्यवसाय चलेन नि । दलहरु असफल त भन्नैपर्यो नि । बेकारको बहसमा समय खेर नफालौं ।’

‘रवीन्द्रजीले नबुझीकन राजनीति गर्न खोज्नुभयो’

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले तपाईंको निकै प्रशंसा गर्नुभएको थियो, तर अन्त्यमा आएर काठमाडौं १ मा समर्थन गर्नुभएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘रवीन्द्रजी स्थिर भैसक्नुभएको छैन । रवीन्द्रजीले नबुझीकन राजनीति गर्न खोज्नुभयो । विवेकशील साझा पार्टी केभो कसो भो, म त्यतातिर जान चाहन्नँ । अत्यन्त ब्याक वार्ड पोलिटिक्स गर्न खोज्नुभएको छ । उहाँले प्रस्तुत गरेका विचार पश्चगामी छन् । पत्रकारिता गरेको मानिसले राजनीति गर्न चाहनु राम्रो कुरा हो । उहाँ देश विदेश जाने बुझेको, पढेलेखेको मानिस हो, जनभावना बुझ्नुभएको छ भन्ने लागेको थियो । उहाँ बैंसैमा किन बूढो हुनुभो ? किन थोत्रो विचार आयो ? तर पनि उहाँप्रति मेरो सहानुभूति छ ।’



प्रतिक्रिया दिनुहोस्