Logo

प्रदीप पौडेलले ईश्वर पोखरेललाई भने, ‘मैत्रीपूर्ण प्रतिस्पर्धा गरौँ’



काठमाडौं, २५ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेट भएको छ।

पौडेल र पोखरेलबीच बूढानीलकण्ठ नगरपालिका–४ का कांग्रेस वडा कार्यसमिति सदस्य पवन कार्कीको निवासमा मंगलबार बिहान भेट भएको हो।

भतिजाको किरियापुत्री बसेका कार्कीलाई समवेदना प्रकट गर्न गएका बेला दुवै नेताको भेट भएको हो । भेटका क्रममा दुवै प्रतिष्पर्धीबीच निर्वाचनसम्बन्धी सामान्य कुराकानी भएको थियो ।

भेटमा कांग्रेस नेता पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलसँग मैत्रीपूर्ण प्रतिस्पर्धाबारे कुरा गरेका थिए। उनले पोखरेलसँग आफूले आसन्न निर्वाचनमा मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि आग्रह गरेको बताए ।

‘किरियापुत्री भेट्न जाँदा हामीबीच भेट भएको हो,’ उनले भने, ‘मैले मैत्रीपूर्ण प्रतिस्पर्धा गरौं भनेको हुँ।’ स्रोतका अनुसार पौडेलको जवाफमा नेता पोखरेलले कुनै प्रतिक्रिया भने जनाएनन्। नेता पौडेलले सोमबारदेखि काठमाडौं–५ मा घरदैलो सुरु गरिसकेका छन्। उनले काठमाडौं महानगरपालिका–५ हाँडी गाउँबाट घरदैलो सुरुवात गरेका हुन्।

घरदैलोका क्रममा नेता पौडेलको सोमबार हाँडी गाउँ जात्रामा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग पनि भेट भएको थियो। उनीहरुले पौडेललाई जितको अग्रिम शुभकामना दिएका थिए ।

पौडेल कांग्रेसकै बलियो नेताको रुपमा परिचित छन । युवामाझ लोकप्रिय पौडेलले अन्तिम समयमा काठमाडौं–५ बाट चुनावका लागि टिकट दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot