Logo

के राजनीतिमा आफ्नो र अर्काको हुँदैन



काठमाडौं, २५ असोज । माथवरसिंह थापाले शक्तिसंघर्षका क्रममा आफ्नै थापा खलककालाई समेत कारबाही गरेपछि जङ्गबहादुर राणाले सोधेछन्,‘मामा आफ्नै खलककालाई किन कारबाही गरेको ?’ माथवरसिंहले उत्तर दिएछन्,‘भाञ्जा राजनीतिमा आफ्नो र अर्काको हुँदैन ।’ नभन्दै आफ्नै मामाविरुद्ध षड्यन्त्र गरेर जङ्गबहादुरले शक्तिको भर्याङ बनाएको विषय इतिहासमा उल्लेख छ ।

२१औं शताब्दीको नेपाली राजनीतिमा आफ्नो र अर्काको नभनी चुनावी प्रतिष्पर्धा चल्न थालेको छ । कुनैबेला एउटै दलमा सहकर्मी बनेकाहरु चुनावी प्रतिष्पर्धामा आमनेसामने बनेका छन् । सर्लाही २ मा राजेन्द्र महतो र महेन्द्र राय यादव चुनावी प्रतिष्पर्धामा छन् । दुवै विगतमा एउदै दलमा थिए । लक्ष्मणलाल कर्ण र प्रदीप यादव पनि पर्सा १ मा आमनेसामने बनेका छन् ।

कुनै बेला एउटै दलमा रहेका रामचन्द्र पौडेल र गोविन्दराज जोशी तनहुँ १ मा चुनावी प्रतिष्पर्धामा छन् । विगतमा एमालेमा रहेका र एउटै गुटका गोकर्ण बिष्ट र रामकुमारी झाँक्री फरक दलबाट गुल्मी २ मा चुनाव लड्दैछन् । बिष्ट एमालेबाट र झाँक्री नेकपा एसबाट प्रतिष्पर्धामा उत्रिएका छन् ।
ललितपुर २ मा निवर्तमान सांसद कृष्णलाल महर्जन नेकपा एसबाट र प्रेम महर्जन नेकपा एमालेबाट चुनावी मैदानमा छन् । दुवै विगतमा एमालेका थिए ।

शक्तिका लागि राजनीतिमा आफ्नैबीच पनि प्रतिष्पर्धा चल्छ । ब्यालेटको राजनीतिमा पनि यस्ता रोचक घटनाहरु देखिने गरेका छन् । एउटै दलमा रहेर संघर्ष गरेकाहरुलाई राजनीतिले आमनेसामने बनाइदिने गरेको छ ।

नेकपा एमालेमा रहँदा माधवकुमार नेपाल र केपी शर्मा ओली लामो समय एउटै गुटमा रहे । तर, दुवैबीच कालान्तरमा टक्क पर्न थाल्यो । नेपाल र ओली अहिले अलग दलमा छन् ।

मधेश केन्द्रित दलमध्ये महन्थ ठाकुर र उपेन्द्र यादव पनि एउटै दलमा थिए । दुवै फरक दल बनाएर फरक गठबन्धनमा छन् ।

यी घटनाले पनि राजनीति अनुमान गर्न नसकिने र जोकोही कुनैबेला एउटै समूह या दलमा भएपछि कुनैपनि बेला फरक समूह या दलमा हुने देखाइदिएको छ ।



प्रतिक्रिया दिनुहोस्