काठमाडौं, २५ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकको छलफलपछि जसपाका मन्त्रीहरुको राजीनामा मागिएको छ । जसपाका चार मन्त्रीले आजै राजनीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्ने जनाइएको छ।
शीर्ष नेताहरुबीच आज जसपाका मन्त्री हटाउने की विना विभागीय बनाउनेबारे छलफल भएको थियो ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव मन्त्री छन् । उनीहरूलाई जसपाले गत असारमा सरकारमा पठाएको हो ।
जसपाले सत्तागठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि मन्त्री हटाउन चौतर्फी दबाब बढेको थियो ।
बैठकमा आगामी मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषयमा पनि छलफल गरिने जनाइएको छ । File Photo