Logo

नागढुंगा–नौबिसे सुरुङ मार्गमा पहिरो, सफा गर्ने उपकरण थाइल्यान्डबाट मगाउनुपर्ने



काठमाडौं, असोज २६ । निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङ मार्गअन्तर्गतको फिनिसिङ भइसकेको खण्डमा करिब एक सय मिटर आन्तरिक पहिरो (इन्टर्नल टनेल स्कुजिङ) गएको छ।

आयोजनाका अनुसार यसअघि नै सुरुङ खनेर फिनिसिङ गरिसकेको मुख्य सुरुङ मार्ग र वैकल्पिक (इभाक्युसन) तर्फ गरी करिब एक सय मिटर आन्तरिक पहिरो गएको हो।

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका डेपुटी प्रोजेक्ट डाइरेक्टर माधवप्रसाद अधिकारी निर्माणाधीन सुरुङ मार्गमा स्कुजिङ (आन्तरिक पहिरो) गएकाले निर्माण अवधि केही समय लम्बिने बताउँछन्।

‘पहिला सुरुङ खनेर फिनिसिङ गरिसकेको ठाउँमा एक सय मिटरजति इन्टर्नल पहिरो गएको छ,’ उनले भने, ‘फिनिसिङ गरिसकेको भागमा पहिरो गएकाले सुरुङको साइज बढेको छ। यसअघि राखेको सपोर्ट सिस्टम कामै नलाग्ने भएको छ। त्यसैले पनि अब नयाँ सपोर्टिङ सिस्टम राखेर सुरुङलाई जोगाउनुपर्ने अवस्था आएको छ।’

अधिकारीले पहिरो गएको खण्डको सुरुङको सपोर्टिङ सिस्टमका लागि आवश्यक उपकरण तथा निर्माण सामग्री थाइल्यान्डबाट मगाउनुपर्ने भएकाले केही समय लाग्ने बताए।

अधिकारीले सुरुङ मार्गमा आन्तरिक समस्या आएसँगै तोकिएको समयसीमाभित्रै सुरुङमार्ग निर्माण सम्पन्न नहुने सम्भावना बढेको बताए।

सुरुवाती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्छ। पछिल्लो समय देखिएको समस्याका कारणले यो आयोजना तोकिएको समयसीमाभित्रै नबन्ने लगभग निश्चितजस्तै देखिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्