काठमाडौं, २६ असोज । झापा ४ की स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई धोका दिएको आरोप लगाएकी छन् ।
‘म राप्रपामा प्रशिक्षण विभाग सदस्य थिएँ । पार्टीले मलाई नै उम्मेदवार तोकेको थियो । एमालेसँग तालमेल गर्नुपर्ने पार्टीका बाध्यता होलान् । तर झापा ५ मा संघ र प्रदेशका तीनवटै भोट सूर्यमा हाल्न सकिँदैन भनेर मैले झापा ४ मा स्वतन्त्र उम्मेदवारी दिएँ । म पार्टीको मात्र होइन, जनताको मान्छे हुँ । मैले पार्टीलाई धोका दिएको होइन, पार्टीले मलाई धोका दिएको हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग झापामा कुरा गर्दै पूर्व मोडल ओलीले भनिन् ।
उनले एजेन्डा नमिल्ने पार्टीसँगको तालमेल राप्रपा कार्यकर्ताले स्वीकार्न नसक्ने दाबी गरिन् । ‘हामीसँग एजेन्डा नमिल्ने पार्टीलाई भोट हाल्न सक्दैनौं । राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना र संघीयताको खारेजी हाम्रो मूल मुद्दा हो । एलपी साँवा लिम्बु र देउमान थेवे मेरा प्रतिद्वन्द्वी हुन् । तर जित यसपटक युवाकै हुन्छ । परिवर्तनका लागि युवालाई अघि बढाउनुपर्छ । जनताले पार्टीको चिह्न हेर्दैनन् । म कांग्रेस, एमाले र राप्रपाको भोट लिएर जित्छु,’ ओलीले थपिन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जित्नै पर्ने नेता भएको पनि ओलीले बताइन् । उनले भनिन्, ‘राजेन्द्र लिङ्देन जित्नैपर्ने नेता हो । तर, यसमा प्रश्नै छैन । तर उहाँका हरेक निर्णय मान्य हुँदैन । हामी दास होइनौं ।’ उनले एक वडाः एक मझौला उद्योग, हरेक गाउँमा आईसीयुसहितको अस्पताल, गुणस्तरीय शिक्षा लगायतका चुनावी मुद्दा अघि सारेकी छन् ।
\