Logo

रियल म्याड्रिड र म्यानचेस्टर सिटी नकआउट चरणमा प्रवेश



एजेन्सी । साविक विजेता तथा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छ । गएराति भएको आ-आफ्नो खेलमा दुवै टोलीले बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षीत गरेका हुन् ।

मंगलबार राति भएको खेलमा म्याड्रिडले शाख्तर डोनेट्स्कसँग १-१ गोलको बराबरी खेलेको हो । युक्रेनमा भएको खेलको दोस्रो हाफको पहिलो मिनेटमै जुकोबले हेडर गोल गर्दै शाख्तरलाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा टोनी क्रुसको पासमा रुडिगरले गोल गरेपछि म्याड्रिड हारबाट जोगिएको हो ।

बराबरीसँगै म्याड्रिड ४ खेलबाट १० अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा रहेको छ भने पराजीत शाख्तर ५ अंकको साथ तेस्रो स्थानमा यथावत रहेको छ ।

यस्तै अर्को खेलमा म्यानचेस्टर सिटी एफसी कोबेन्हाभनसँग गोलरहित बराबरी खेल्दै नकआउट चरणमा पुगेको हो । खेलको ३० औं मिनेटमा सेर्जियो गोमेजले रातो कार्ड पाएपछि बाँकी समय सिटीले १० खेलाडीमा रहेर खेलेको थियो । त्यसअघि २५ औं मिनेटमा रियाद माह्रेज पेनाल्टीमा चुक्दा र ११ औं मिनेटमा भिएरआरले रोद्रीले गरेको गोललाई मान्यता नदिंदा सिटी निराश बनेको थियो ।

बराबरीसँगै सिटी ४ खेलबाट १० अंकको साथ समूह ‘जी’को शीर्ष स्थानमा रहेको छ भने कोबेन्हाभन २ अंकको साथ पुछारमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot