ओखलढुंगा, २६ असोज । ओखलढुंगाको विकास र राजनीतिक निकास आफ्नो पहिलो चुनावी ऐजेण्डा हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताएका छन् ।
चुनावी अभियानका क्रममा सदरमुकाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै खतिवडाले आफुले चुनाव हार्दा जिल्लाको विकास हारेको भन्दै आफुले यो पटक जिल्लाको विकास र विकृत राजनीतिलाई निकास दिने मुद्धा आफुले उठाउने बताएका हुन् ।
५ वर्षअघिको निर्वाचनमा पराजित भएपछि पनि निरञ्तर जनतासँगै रहेर आफुले काम गरेको खतिवडाले बताए । ‘२०७४ मा मैले चुनाव हारेपछि जित्ने माननीयलाई बधाई दिँदै जिल्लाको विकास नहारोस्, अराजकता नबढोस् भन्ने कामना गरेको थिएँ तर मैले चाहे जस्तो भएन ।’ उनले भने, ‘जिल्लाको विकास र राजनीतिक निकास नै मेरो प्रमुख मुद्धा हो ।’ कारोना संक्रमणका समयमा आफुले जिल्लामा नागरिक बचाउने अहम् भूमिका खेलेको र जनताका हरेक समस्यामा सँगै रहेको उनले बताए ।
जिल्लामा राष्ट्रिय प्रशारण लाइनको विद्युत, सडक सञ्जाल विस्तार लगायतका योजना आफ्नो प्राथमिकतामा रहने खतिवडाले बताए ।
ओखलढुंगा जिल्ला कांग्रेसको गढ भएको र त्यसमा पनि माओवादीको साथले यो पटक आफुले चुनाव सजिलै जित्ने खतिवडाले दावी गरेका छन् ।
खतिवडा मंसिर ४ गते हुने निर्वाचनमा ओखलढुंगाबाट प्रतिनिधिसभाका उम्मेदवार हुन् । ५ वर्षअघिको चुनावकै प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवारसँग खतिवडा यो पटक पनि प्रतिस्पर्धामा छन् ।