काठमाडौं, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रभु साहले पार्टीलाई धोका दिएको आरोप लगाएका छन् । साहको व्यवहारलाई अराजनीतिक षडयन्त्रको नमुना भन्दै पोखरेलले अन्य क्षेत्रका उम्मेदवारको टिकट समेत नदिकन समय गुजार्ने षड्यन्त्र गरेको टिप्पणी गरेका छन् ।
एक विज्ञप्ती जारी गर्दै महासचिव पोखरेलले राजनीतिमा उक्त षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ नरहने समेत उल्लेख गरेका छन । साहले गठबन्धनका नेतासँगको षड्यन्त्रपुर्ण साठगाँठ गरेको उनको भनाइ छ ।
‘प्रभु साह जसपासंगको तालमेलको संझौता वैठकमा सहभागि हुनु भो ।उक्त सहमती पश्चात मधेसप्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा वस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफुले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो ।’ उनले अगाडी लेखेका छन्, ‘राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै वुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपा वीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।’