काठमाडौं, २६ असोज । काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा आगोले जलेकी एक युवतीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । गत असोज २४ गते बिहान युवती होटलकै कोठामा आगोमा परेर घाइते भएकी थिइन् ।
२३ वर्षीया युवतीलाई उनीसँगै रहेका जितपुर सिमराका प्रेमी केशव रिजालले वीरअस्पताल पुर्याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि घाइते युवतीलाई किर्तिपुरस्थित एक अस्पतालमा लगिएको जनाइएको छ ।
युवतीको मृत्यु भएसँगै प्रहरीले रिजाल र होटल सञ्चालक दुवैलाई नियन्त्रणमा लिएको छ । युवतीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको देखिएपनि पेट्रोल युवती आफैले लगाएकी हुन वा कसैले लगाएको हो त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।