काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका नेता एवं संखुवासभामा सत्ता गठबन्धनका साझा उम्मेदवार दीपक खड्काले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।
‘मेरो जितको मुख्य आधार २०७० मा सांसद निर्वाचित भएपछि गरेका विकास निर्माण नै हो । मैले यहाँका जनताको आपत् विपत्मा साथ दिएको छु । पर्यटकीय जिल्लाका रुपमा संखुवासभाको प्रवर्द्र्धन, त्रिदेशीय किमांथाका नाका खोल्ने, गुणस्तरीय र प्राविधिक शिक्षा, रोजगारी मेरा मुद्दा हुन् । म गर्न नसक्ने कुरा बोल्दिन । सक्नेजति काम गर्छु । मैले काम गर्न सक्ने विगतले पुष्टि गरिसकेको छ । मेरो जितको आधार जनता नै हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खड्काले भने ।
निवर्तमान सांसद राजेन्द्र गौतम विकासलाई निरन्तरता दिन असफल भएको आरोप पनि उनले लगाए । नेता खड्काले भने, ‘२०७४ मा निर्वाचित राजेन्द्र गौतमले व्यक्तिगत रुपमा आफ्ना लागि केही गर्नुभयो होला । तर जिल्लाका लागि केही पनि गर्न सक्नुभएन । दोहोरिएर उठ्नुभएको छ । मैले संखुवासभामा चक्रपथका लागि बजेट विनियोजन गराएको थिएँ । उहाँले त्यसलाई निरन्तरता दिन सक्नुभएन । यहाँको बजेट अन्यत्र गयो । तर उहाँ पूर्ण रुपमा असफल भएकाले एमालेभित्रै पनि असन्तुष्टि छ । त्यसको लाभ पनि मलाई हुन्छ ।’
साथै खड्काले गठबन्धनका कारण पार्टीले प्रदेशमा प्रत्यक्ष सिट नपाए पनि प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक उम्मेदवार पाएको पनि बताए ।