Logo

राजनीतिमा विकृति ल्याउने नेतृत्व सफा गर्न आवश्यक छ : प्रदीप पौडेल



काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का सत्तागठबन्धनका साझा उम्मेदवार प्रदीप पौडेलले राजनीतिमा विकृति ल्याउने नेतृत्व सफा गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार कांग्रेस काठमाडौं–५ ले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधि भेलालाई सम्बोधन गर्दै पौडेलले आफ्नो पहिलो उदेश्य राजनीतिलाई सफा गर्ने रहेको स्पष्ट पारे । काठमाडौंले देश बनाउने नेतालाई विश्वास गर्ने उनको भनाइ थियो ।

उनले भने,‘काठमाडौंले विकृतिहरुलाई अन्त्य गर्ने गरि अगाडि बढेको नेतृत्वलाई विश्वास गर्छ। आज देशमा धेरै विकृतिहरु छन्। राजनीतिभित्रै धेरै विकृतिहरु छ। राजनीतिमा विकृति ल्याउने नेतृत्व पनि दलहरुभित्र छ। त्यसैले राजनीति सफा गर्न आवश्यक छ। मेरो पहिलो उदेश्य राजनीतिलाई सफा गर्ने हो।’ नेता पौडेलले राजनीतिपछि दोस्रो राजधानीलाई पनि सफा गर्ने उदेश्य रहेको सुनाए ।

‘काठमाडौंको क्षेत्र नम्बर ५ राजधानीको पनि राजधानी हो। यसले नेपालको नीति निर्माणमा ठूलो योगदान गर्न सक्छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरु छन् क्षेत्र नम्बर ५ मा। त्यसैले ५ बाटै देश बन्ने नीति बन्नुपर्छ। देश बनाउने नीतिको नेतृत्व गर्ने नेता ५ बाटै आउनु पर्छ।’–उनले भने । आफुलाई विश्वास गर्न मतदातालाई आग्रह गर्दै जनताको विश्वास र भरोसालाई कुठाराघात नगर्ने समेत प्रतिबद्धता जाहेर गरे । सांसदको रुपमा आफूले देशमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै उनले जनताको शिर निहुरिने अवस्था आउन नदिएर गर्व गर्ने अवस्थाको निर्माण गर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य पौडेलले डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्र, सूचना प्रविधि केन्द्र, प्रशासनिक केन्द्र र स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकसित गर्ने आफ्नो योजना रहेको सुनाए ।

उनले संसारको प्रदुषित सहरका रुपमा परिचित काठमाडौंलाई सफा गरेर स्वच्छ, सफा, हराभरा र सुन्दर सहरका रुपमा परिणत गर्नका निम्ति विशेष योजनाहरु ल्याउने स्पष्ट पारे । पौडेलले नेवार समुदाय सभ्यताको प्रतीक भएको बताउँदै हिन्दु सभ्यता, नेवार संस्कृतिको सभ्यतालाई संरक्षण गर्ने, सम्वृद्ध बनाउने गरि अगाडि बढ्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय प्रबक्ता डाक्टर प्रकाशसरन महत, प्रदेश उम्मेदवारहरु भैरब सापकोटा, श्यामबहादुर खड्का लगायतका नेताहरुले सम्बोधन गरेका थिए । Photo : Dinesh Chaudhary 



प्रतिक्रिया दिनुहोस्