Logo

सुदूरपश्चिममा चुनावी प्रतिस्पर्धा रोचक बन्दै



सुदूरपश्चिम, २७ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली जिल्लामा विभिन्न दलले गठबन्धन गरेर प्रत्यासी उठाइएपछि प्रतिस्पर्धा भिन्न र रोचक बन्ने देखिएको छ ।

नेपाली कांग्रेससहितको बाम—लोकतान्त्रिक गठबन्धनले भागबन्डा गरेर आ–आफ्ना उम्मेदवार उठाउँदा (नेकपा एमाले)ले पनि प्रदेश सभाका केही क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेर उम्मेदवार उठाएपछि चुनावी प्रतिस्पर्धा विगतको भन्दा भिन्न र रोचक देखिएको हो । स्थानीयवासी विष्णु भाटले गठबन्धन गरेर निर्वाचनमा जाँदा प्रतिस्पर्धामा यस्तो स्थिति देखिनु स्वभाविक भएको बताउछन् ।

उनी भन्छन्,“गाग्रीभरिको पानी सानो मखमा खन्याउनुपर्ने जस्तो गरी सानो दलका उम्मेदवारलाई ठूलो दलसमर्थित मतदाताले मत दिनुपर्दा चुनाव रोचक बन्दैछ ।” अर्का मतदाता बामदेव जोशी पनि स्थिरता र विकासका लागि स्वच्छ छवि भएका इमान्दार उम्मेदवार छान्ने मौका आएकाले सचेत भएर मतदान गर्नुपर्ने समय आएको बताउछन् । एउटै निर्वाचन क्षेत्रमा धेरै उम्मेदवार हुँदा मतदाता कसलाई मतदिने भनेर केही अलमलमा परेका छन् भन्दै उनी जोड दिन्छन्, “विगतका निर्वाचनमा भन्दा अहिले मतदाता निकै सचेत भइसकेकाले यो चुनावमा सक्षम र इमान्दार उम्मेदवारलाई मतजाने देखिन्छ ।”

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित दलले आपसमा मिलेर चुनावमा उम्मेदवार उठाएका छन् । एमाले र जनता समाजवादी पार्टीले पनि कैलालीको प्रदेशसभाका केही क्षेत्रमा आपसमा तालमेल गरेर उम्मेदवार उठाएका छन् । प्रतिनिधिसभातर्फ कांग्रेसले क्षेत्र नं १, ४, र ५, माओवादीले क्षेत्र नं २ र ३ मा उम्मेदवार उठाएको छ । एकीकृत समाजवादीले भने जिल्लाका दुई प्रदेशसभामा मात्र उम्मेदवार उठाएको छ ।

सांङ्गठनिक रुपमा जिल्लामा अन्य दलको तुलनामा कमजोर रहेको जनमोर्चा नेकपा एमालेले प्रतिनिधिसभाका सबै (पाँच क्षेत्र)मा उम्मेदवार उठाएको छ। उसले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेको छ । गएको स्थानीय तहको निर्वाचनमा चार वटा पालिका प्रमुख जितेर पहिलो शक्ति बनेको नागरिक उन्मुक्ति पार्टीले सबै क्षेत्रमा उम्मेदवार उठाएको छ ।

जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, लोकतान्त्रिक समाजवादी पार्टी, सङ्घीय तोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि कतिपय क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कैलाली जिल्लाका प्रत्यासीले प्रचारप्रसार गरेर मतदातालाई रिझाउन सुरु गरिसकेका छन् । प्रचारप्रसारका साथै उम्मेदवारहरु बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तक्र्रियामा केन्द्रित भइरहेका छन् । त्यस्ता कार्यक्रममा उम्मेदवारलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने गरेको नेता कार्यकर्ताले बताएका छन्



प्रतिक्रिया दिनुहोस्