Logo

विद्युतीय गाडीको विक्रि-वितरणमा जोड दिनेलगायत यस्ता छन् काठमाडौं–७ बाट उम्मेदवारी दिएका ई.केसीका योजना



काठमाडौं, २७ असोज । काठमाडौं क्षेत्र नम्बर ७ बाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको लागि मनोनयन दर्ता गरेका ई.किरण केसीले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । केसीले सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनको चुनाव चिन्ह ‘खुकुरी क्रस’ रहेको छ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर केसीले भोलिदेखि घरदैलो कार्यक्रमको सुरु गर्ने जनाए । चुनावमा उठ्नको लागि भनेर नै उनी केही दिन अघिमात्र अष्ट्रेलियाबाट नेपाल आएका थिए । उनले काठमाडौंको एयरपोर्ट ओर्लनेबित्तिकै आसन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

ई.केसी सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले मिटरब्याजी पीडित किसानहरुको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दै माइतीघर मण्डलामा धर्नासमेत दिएका थिए ।

आफ्नो उम्मेदवारी, अवधारणा र योजनाहरुको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै युवा नेता केसीले जनताले आगामी निर्वाचनमा असल नेतृत्वलाई छान्ने विश्वास व्यक्त गरेका छन् । उनले आम जनताले छनौट गरेका नेतृत्वले देश निर्माण गर्नेमा आफू विश्वस्त रहेको बताए ।

कलिलो उमेरमा चुनावी मैदानमा होमिएका केसीले आफू निर्वाचित भएमा १० वटै वडामा आफ्नै नेतृत्वमा अर्डिट गर्ने व्यवस्था मिलाउने बताए । राष्ट्रलाई पेट्रोलियम पदार्थमा आत्मनिर्भर बनाउन बिजुली उत्पादनमा ध्यान दिनुपर्ने उनले जोड दिए । आफु मेकानिकल इन्जिनियर भएको बताउँदै उनले आफूले देश विकासको लागि नयाँ–नयाँ योजना बनाएको सुनाए ।

नेपालमै उत्पादन भएका विद्युतीय गाडीहरुको विक्रिवितरण गर्न सकेमा देशको आर्थिकस्तर उकास्न सकिने उनको भनाइ थियो । विदेशमा भएको सुख सुविधा छाडेर आफू नेपालको विकासको लागि आएको समेत उनले स्पष्ट पारे ।

भोलिदेखि घरदैलो कार्यक्रम सुरु गर्ने जानकारी दिँदै उनले ‘ई.किरण केसी’ नामक फेसबुक पेज रहेको भन्दै अपडेटका लागि सबैलाई लाइक गर्न आग्रह गरे । उनले आफ्नो चुनाव चिन्ह ‘खुकुरी क्रस’ रहेको भन्दै त्यसमा भोट दिएर आफ्नो मतको सम्मान गर्न मतदातासमक्ष आग्रह गरे । उनको चुनावी नारा यस्तो छ :-

‘बृद्ध नेतालाई मासिक भत्ता
भिजनरी युवालाई दिनुस सत्ता
देश विकासमा हामी सबैको एउटै आश
इन्जिनियर किरण केसीलाई गरौँ विश्वास’



प्रतिक्रिया दिनुहोस्