काठमाडौं, असोज २८। आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ । तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो । तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले यसपालि तिहारमा १३ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ४५ हजार सङ्ख्यामा माला खपत हुने अनुुमान गरिएको बताए। फूलमा मुलुक आत्मनिर्भर भए पनि तिहारमा सयपत्री मालाको खपत धेरै हुने हुँदा माला आयात गर्नु परेको उनले बताए।
तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपैयाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपैयाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने फ्यानले जनाएको छ । गत वर्ष सयपत्री फूलको मालाबाट नौ करोड ९८ लाख रुपैयाँ, मखमली फूलको मालाबाट एक करोड ४२ लाख रुपैयाँ र गोदावरी फूलको मालाबाट ५२ लाख गरी ११ करोड ९२ लाख रुपैयाँको कारोबार गरेको थियो ।
गत वर्ष ११ करोड ९२ लाख रुपैयाँ बराबरको २२ लाख ३५ हजार सङ्ख्यामा मालाको खपत भएको थियो । यो वर्ष माग १० प्रतिशतले बढ्ने अनुमान गरिएको उनले बताए। एसोसिएसनका अनुसार सयपत्री फूलको प्रतिमाला ५५ रुपैयाँ बिक्री हुने अनुमान गरिएको छ । गत वर्ष पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै मखमली फूलको मूल्य भने गत वर्षको तुलनामा पाँच रुपैयाँले वृद्धि भएको छ ।
गत वर्ष प्रतिमाला ३५ रुपैयाँ कायम भएकामा यो वर्ष ४० रुपैयाँ तोकिएको एसोसिएसनको भनाइ छ । यस्तै गोदावरी फूलको माला ५० रुपैयाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५० रुपैयाँ कायम भएको गोदावरी फूलको मूल्य यो वर्ष चार सय रुपैयाँ तोकेको छ । गत वर्षको तिहारमा १८ लाख १५ हजार सयपत्री फूूलको माला खपत भएको थियो । यसवर्ष अघिल्लो वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सयपत्री फूलको मागमा वृद्धि हुने अनुुमान गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।