Logo

झापा ३ मा कृष्ण सिटौला भर्सेस राजेन्द्र लिङदेन होइन, गणतन्त्र भर्सेस राजतन्त्र होः सिटौला



काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका नेता एवं झापा ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आगामी सरकार कांग्रेसको नेतृत्वमा बन्ने दाबी गरेका छन् ।
‘विगत निर्वाचनमा कांग्रेसको पराजय भएकाले मुलुकले अघिको बाटो लिन सकेन । कांग्रेसको नेतृत्व नभईकन हुँदैन भन्ने जनतामा परेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मात्र जनताले चाहे बमोजिमको प्रगति हुन्छ भन्ने परेको छ । जनताको विश्वास कांग्रेसको पक्षमा छ । प्रत्यक्षमा कांग्रेसले कम्तीमा ७० सिट ल्याउँछ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ,’ रिपोर्टर्स नेपाल डट कम, प्राइम टाइम्स टेलिभिजन, दिव्यदर्शन टेलिभिजन र नेपाली रेडियो नेटवर्क (एनआरएन) को संयुक्त निर्वाचन बहस ‘मंसिर ४ महासंग्राम’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिटौलाले भने ।

‘कांग्रेसबाट निर्वाचित सांसदमध्ये जो कोही प्रधानमन्त्री हुन्छौं’
अबको प्रधानमन्त्री को हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा सिटौलाले कांग्रेसको नेतामध्ये कोही बन्न सक्ने औंल्याए । उनले भने, ‘ऋषिजी, तपाईं हतारिएर प्रश्न सोध्नुहुन्छ । अबको प्रधानमन्त्री को हो ? तपाईंले जति पटक सोधे पनि मलाई उत्तेजनामा ल्याउन सक्नुहुन्न । मेरो धैर्यता टुटाउन खोज्नुस् । हामी कांग्रेसबाट निर्वाचित सांसदमध्ये जो कोही प्रधानमन्त्री हुन्छौं ।’
निर्वाचनको सम्मुखमा कांग्रेसमा कुनै गुट नभएको सिटौलाको दाबी छ । उनले थपे,’ कांग्रेसमा अहिले कुनै गुट छैन । हामी एकताबद्ध छौं । यसमा तलमाथि फरक विचार हुँदैन । प्रत्यक्षतर्फ निर्णय गर्दा सानातिना त्रुटि भए होलान् । समानुपातिकमा देशभरि नै गुनासा छन् । आगामी दिनमा त्यसलाई सच्चाएर अघि बढ्नुपर्छ ।’

‘पार्टीमा अन्तर्घातको सम्भावना छैन’
झापामै पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र तपाईंबीच मनोमालिन्य छ नि भन्ने प्रश्नमा सिटौलाले भने, ‘तपाईंलाई थाहा छ कि छैन, हामी देशभरिको उम्मेदवार तय गरेर सँगसँगै झापा आएका हौं । देशभरका नेपाली कांग्रेसका तमाम नेता कार्यकर्ता एक भएर लाग्छन् । पार्टीमा अन्तर्घातको सम्भावना छैन । बेकारका भ्रम नछर्नोस् ।’

‘राजेन्द्र लिङदेनले केही काम गरेनन्’
झापा ३ मा गणतन्त्र भर्सेस राजतन्त्रको निर्वाचन हुन लागेको पनि सिटौलाले बताए । उनले भने, ‘हामीले यत्रो आन्दोलन, यत्रो संघर्ष गरेर गणतन्त्र ल्यायौं । यही ठाउँमा यत्रा सहिद भए । तर जनतालाई यथार्थ बुझाउन नसक्दा हामीले दुष्परिणाम भोग्यौं । झापा ३ मा अहिले पनि कांग्रेस पहिलो पार्टी छ । मलाई राजेन्द्र लिङदेनले हराएका होइनन्, एमाले र माओवादीले हराएका हुन् । राजावादीहरु आफू जित्ने र केही गर्ने सोच्दैनन् । अरुलाई हराउने अनि राजा ल्याउने उनीहरुको मिसन हो । अहिलेको लडाइँ कृष्ण सिटौला भर्सेस राजेन्द्र लिङदेनको होइन, गणतन्त्र र राजतन्त्रको हो ।’
राजेन्द्र लिङदेन सांसद हुँदा झापा ३ ले केही नपाएको पनि सिटौलाको आरोप छ । उनले भने, ‘मैले चारआली भद्रपुर सडक कालोपत्रे गराएँ । गिरिजाप्रसाद कोइराला सभागृह बनाउने काम अघि बढाएँ । झुट बोल्नु आमाको रगत खानु हो भन्ने राजेन्द्र लिङदेनको कार्यकालमा कुन योजनाको टेन्डर निस्कियो ? उहाँको कार्यकालमा केही भएको छैन । ५ वर्षसम्म जनताले केही पाएका छैनन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot