Logo

राप्रपामा समानुपातिकमा परेको नाम स्थानीय नेतालाई नै थाहा छैन, अध्यक्ष लिङदेनको चर्को आलोचना



काठमाडौं, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समानुपातिकमा परेका उम्मेदवारको विषयमा आलोचना भएको छ । पार्टीका नेता तथा कार्यकर्ताले नचिनेको नाम समानुपातिकको एक नम्बरमा परेपछि नेताहरु आक्रोशित भएका हुन् । उनीहरुले पार्टी नेतृत्वसँग यसबारे जवाफ माग्ने र उचित जवाफ नआए पार्टी केन्द्रीय कार्यालयमा ताला लगाउने समेत चेतावनी दिएका छन् ।

सर्लाही राप्रपाका कोषाध्यक्ष सञ्जिवकुमार तिवारीले समानुपातिक उम्मेदवारको नाम देख्दा आफू छक्क परेको बताएका छन् । ‘समानुपातिक उम्मेदवारलाई पार्टीकै नेताले चिनेको छैन भनें ती कस्ता मान्छे हुन् ?’ तिवारीले भने ‘समानुपातिकमा धेरै चलखेल भयो भन्ने प्रमाणित भएको छ, यसरी पार्टी चल्न सक्दैन ।’ तिवारीले प्रदेश अध्यक्ष भरत गिरीलाई यसबारेमा सोध्दा केन्द्रले नाम पठाएकाले के गरेको भनेर आफूलाई थाहा नभएको जवाफ दिएको बताएका छन् । तिवारीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोध्दा प्रदेशले पठाएको नामका आधारमा समानुपातिकको सूची बनाएको भनेर एकले अर्कालाई आरोप लगाउँदै नेता तथा कार्यकर्तालाई झुक्याउने प्रयास गरेको तिवारीको आरोप छ । तिवारीसहितका पार्टीका अन्य नेताहरुले पनि पार्टीले सो विषयमा आफूहरुलाई प्रष्ट पार्नुपर्ने माग गर्दै आएका छन् ।

यसै विषयमा असन्तृष्टि जनाउँदै केन्द्रीय सदस्य मिना झाले समेत पदबाट राजीनामा दिएकी छिन् । गत असोजमा सर्लाहीमा भएको आमसभामा केन्द्रीय सदस्यहरुलाई पनि जानकारी नदिई अध्यक्ष लिङदेनले कार्यक्रम गरेको तिवारीले आरोप लगाए । लिङदेनकै कारण जिल्ला अध्यक्ष प्रभाकर सिंहले गत स्थानीय निकायको चुनावको केही दिन अघि मात्रै पद र पार्टी दुवै त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

त्यसैगरी, राप्रपाभित्र कर्णाली प्रदेशमा पनि यस्तै समस्या भइहरेको तिवारीको भनाइ छ । उनका अनुसार केन्द्रीय महाधिवेशनपछि लिङदेनले रामानन्द न्यौपानेलाई पार्टीमा प्रवेश गराएर केन्द्रीय सदस्य, सचिवालय सदस्य, सहायक महामन्त्री बनाउँदै प्रदेशकै समानुपातिकको पहिलो नम्बरमा राखेका छन् । १० वर्षदेखि पार्टीमा नभएको व्यक्ति अन्जना रावललाई लिङदेनले महिला संगठनको केन्द्रीय अध्यक्ष र समानुपातिकतर्फ प्रतिनिधि सभाको तेस्रो नम्बरमा उनको नाम राखेका छन् । रावले सञ्चालन गरेको महिला संगठनको कार्यक्रममा केन्द्रीय कार्यालय धुम्बाराहीमा समेत विवाद भएको तिवारीले जानकारी दिए ।

अध्यक्ष लिङदेनले आफूलाई महाधिवेशनमा सहयोग गर्ने शर्तमा नेता डा.प्रकाशचन्द्र लोहनीसँग महाधिवेशन अगाडीनै चारबुंदे सम्झौता गरेका थिए । ति मध्ये पहिलो नम्बरमा खस आर्यबाट समानुपातिकको पहिलो नम्बरमा डा.लोहनीको नाम राखिने,दोस्रोमा निर्देशन समितिको अध्यक्ष लोहनीलाई बनाउने,तेस्रोमा संसदीय दलको नेता बनाउने र चौथोमा कुनै पनि नियुक्ति गर्दा उनको सल्लाह अनुसार नियुक्ति गर्ने भनि सम्झौता गरिएको भएपनि पार्टीको कार्यसम्पादनमा ठुलो विवाद हुँदा पशुपति शमसेर राणा र लोहनीबीच समानुपातिकको पहिलो नम्बरमा राख्नेमा मतदान भएको थियो । तिवारीले भने,‘यस्तो किन भयो, अरु नेताहरु पनि थिए तर उनीहरु दुईजनाबिच मात्र मनदात भएकोमा हाम्रो आपत्ति हो । प्रदेश १ मा समानुपातिकमा अधिकांश व्यक्ति झापा जिल्लाकै व्यक्ति राखियो । तीनजना व्यक्तिको लागि एमालेसँग गठबन्धन किन गरियो ? गठबन्धनत सबैको लागि हुनुपर्ने थियो नी, यी ३ जना व्यक्तिले मात्र पार्टी चलाउने हो ?’ युवा नेता तिवारीले २÷४ जना व्यक्तिलाई पार्टीमा प्रवेश गराउँदा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई दिएकोमा पनि आपत्ति जनाए ।

उनले पशुपति शमसेर राणाको नक्कली हस्ताक्षर गरेर गत महाधिवेशनमा उनको समर्थन लिङदेनलाई रहेको भनी झुटो समाचार फैलाएकोमा आरोप लगाउँदै तिवारीले उक्त समाचार लिङदेनले प्रमाणित गरेर देखाउन समेत चुनौति दिए । ‘पशुपति शमशेर राणाले आफ्नै हातले लेखेर मेरो समर्थन आलोकाँचोलाई छैन् भनेका थिए ।’–तिवारीले भने ।

स्थानीय तहको गत बैशाख ३० गते भएको निर्वाचनमा बरथहवा नगरपालिकामा दीपक अमात्यले मेयरको उम्मेदवारी दिने भएका थिए । अमात्य उम्मेदवार नहनुे भएपछि उनले श्रीमतीलाई उम्मेदवार बनाउने भन्दै थिए तर अन्तिम समयमा आएर ढुलुराम बाराकोटीलाई मेयरको उम्मेदवार बनाइयो । पार्टीको चुनाव प्रचार प्रसारमा कोही पनि हिँडेनन् । जिल्लाका नेता तथा कार्यकर्ताले अरु पार्टीका उम्मेदवारसँग सेटिङ मिलाएर उनीहरु ढुक्कले बसेको भन्दै आलोचना गरेका छन् । जिल्लाका नेताहरुले अरु पार्टीका उम्मेदवारबाट पैसा लिएर उम्मेदवारी दिए पनि भोट नपागेको भन्दै आलोचना गरेका छन् । बाराकोटीले १ सय ४० मत ल्याए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यो नगरपालिकाबाट राप्रपालाई लगभग १६ सय मत आएको थियो । स्थानीय तहको अहिलेको निर्वाचनमा नेकपा एमालेकी कल्पना कटवालले मेयर जितेकी छिन् । मेयरका उम्मेदवार भएका ढुलुराम अहिले प्रदेशको आदिवासी जनजातिको बन्दसूचीमा १ नम्बरमा परेपछि नेता कार्यकर्ता चकित भएका छन् । ‘के कारणले बाराकोटीको नाम १ नम्बरमा पर्यो भनेर प्रश्न गरिरहेका छौं, कसैले चित्तबुझ्दो जवाफ दिएको छैन’ तिवारीले भने ‘यो त एउटा उदाहरणमात्र हो, यसको प्रतिक्रिया स्वरुप मधेशमै पूरै आन्दोलन हुन्छ अब हाम्रो पार्टीमा ।’

पार्टीले समानुपातिकमा पठाएको बन्दसूची सार्वजनिक भएपछि पार्टीको केन्द्रीय नेतृत्वमा रहेका नेताहरु पनि असन्तुष्ट बनेका छन् । उनीहरुले पार्टी अध्यक्षलाई जो मन पर्छ उसैलाई समानुपातिकको बन्दसूचीमा राखेको र प्रतक्ष्य उम्मेदवारको टिकट वितरणमा पनि अनियमितता गरेको आरोप लगाएका छन् । उनीहरुले अध्यक्ष लिङ्देनको सानो सोचका कारण पार्टी दिनैपिच्छे संकटमा परेको भन्दै चिन्ता गरेका छन् । पार्टीले उम्मेदवार छनौटमा गलत निर्णय गरेको भन्दै लिङ्देनकै नजिकका भनेर चिनिने केहीले पार्टी छोड्ने निर्णयसमेत गरेका छन् । केही ठाउँमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा भएका छन् ।



प्रतिक्रिया दिनुहोस्