Logo

माछापुच्छ्रे बैंकको ठगी धन्दाः ‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’



लुम्बिनी, असोज २९ । “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भनिन्, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।”

रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उनलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी छन् । “बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन”, उनले भनिन्।

सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा छन् । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उनीहरूले महिनैपिच्छे पठाएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गर्दै भौचर लिँदै आएका थिए । तर बैंक स्टेटमेण्टमा उनको खातामा पैसा छैन ।

गत साउन महिनामा नयाँ घर बनाउने भनेर जब उनी बैंकको भैरहवा शाखामा पैसा निकाल्न गए, उनको खातामा मात्र रु ९० हजार मात्र रहेको थाहा पाए । यो अवधिमा उनले सो बैंकमा चार लाख जम्मा गरिसकेको बताए । अहिले उनी बैंकले नै पैसा गायब पारिदिएको दुःखेसो पोख्दै न्यायको खोजीमा भौँतारिररहेका छन्।

सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि माछापुच्छ बैंकको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी रु १५ लाख ८० हजार जम्मा गरे । उनको खातामा पनि उक्त पैसा छैन । खातामा पैसा नदेखिएपछि उनले बैंकमा निवेदन दिए तर बैंकले उनको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नरहेको उनको गुनासो छ ।

आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गरेको भौचर छ । तर, उनीहरुको बैंक खातामा भने रकम छैन । खातामा जम्मा गरिएको रकम कहाँ गयो? भन्ने प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आएको सेवाग्राहीको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot