Logo

टिकट वितरणमा वंशवाद



काठमाडौं, असोज २९ । ‘बिपी कोइराला, महेन्द्रनारायण निधि, गणेशमान सिंह कसैको प्राइभेट प्रोपर्टी होइन, हाम्रो पनि हो। नेताका छोराहरू, नेताका छोरीहरू भनेर गरिएका बैठकहरूमा डा शेखर कोइरालालाई कहिल्यै बोलाइयो ? उहाँ कहिल्यै देखिनुभयो ? शेखर कोइराला पनि आजका दिनमा तपाईंहामीजस्तै सामान्य परिवारको छोराका रूपमा उभिनुभयो।

तपाईंहामी एउटा ताकत निर्माण गर्न सफल भएका छौं।’ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि निकटतम प्रतिद्वन्दी शेखर कोइरालाले आयोजना गरेको धन्यवाद कार्यक्रममा गगन थापाले दिएको अभिव्यक्ति हो यो।

बिपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान, गिरिजाप्रसाद कोइराला पुत्री सुजाता र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्रप्रति थापाको यो भनाइ लक्षित थियो। सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा उनीहरूले देउवालाई सहयोग गरेपछि झन्डै आफ्नो उमेरजति नै कांग्रेस राजनीतिमा सक्रिय पूर्वजका छोराछोरीप्रति आक्रोश पोखेका थापा पार्टी महामन्त्रीको जिम्मेवारीमा छन्।

थापाको यो कटाक्ष सुनेका कांग्रेसका नेता तथा कार्यकर्ताले अब पार्टीमा नाताको होइन, नेताको योग्यता, क्षमताका आधारमा अवसर वितरण र जिम्मेवारी बाँडफाँटको सुरुवात हुने अपेक्षा गरेका थिए। तर मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता होइन, वंश स्थापित गर्नेगरी कांग्रेसले टिकट वितरण गरेको छ। पार्टी र मुलुकप्रति खास कुनै योगदान नभएकालाई वंशवाद स्थापना गर्नेगरी कांग्रेसले उम्मेदवार तोकेको छ।

२०६४ सालको संविधानसभा निर्वाचनका समयमा व्यक्ति हत्याको आरोप लागेका कांग्रेसका मोहम्मद आफताव आलम २०७४ सालमा रौतहट–२ बाट सांसद निर्वाचित भएका थिए। उनी हाल जेलमा छन्। कांग्रेसले अहिले रौतहट–२ बाट उनका छोरा रित्तोद आलमलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।

मुस्ताङमा कांग्रेस नेता रोमी गौचनका छोरा योगेश गौचन थकालीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाइएको छ। कैलाली–५ मा सभापति शेरबहादुर देउवाका भतिज प्रकाश देउवालाई प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाइएको छ। प्रकाश कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजु देउवाको स्वकीय सचिवको जिम्मेवारीमा थिए। कांग्रेसका स्वर्गीय नेता खुमबहादुर

खड्काका छोरा अनुरागलाई पनि कांग्रेसले दाङमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। पार्टीका प्रभावशाली नेता खड्काको निधनपछि छोरा अनुराग पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। पार्टीका प्रभावशाली कुनै नेताको निधन भयो भने कांग्रेसले पत्नी वा छोरालाई राजनीतिमा अवसर दिँदै आएको छ।

नेपाली कांग्रेसमा मात्र होइन, एमाले, माओवादी केन्द्र र मधेसकेन्द्रित दलहरूले पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा वंशलाई पनि प्राथमिकतामा राखेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–७ बाट उम्मेदवार छन्। मानुषीकी काकी दुर्गा भट्टराई न्यौपानेलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको सूचीमा राखिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्