काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का नेता बालेश्वरप्रसाद थारुले थारुलाई प्रत्यक्षमा उम्मेदवार नबनाउनु नेतृत्वको कमजोरी भएको बताएका छन् ।
‘देशमा ४५ लाखभन्दा बढी थारु छन् । कुल जनसंख्याको ६.६ प्रतिशत हिस्सा ओगटेका थारुहरुले उचित स्थान पाएका छैनन् । थारु पनि प्रतिस्पर्धा जान सक्छन् । राष्ट्रिय राजनीतिमा पुग्न सक्छन् । तर मधेस प्रदेशमा थारुलाई नेता बनाउनै खोज्दैनन् । प्रत्यक्षमा बिरलै उम्मेदवार छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थारुले भने ।
आफूलाई समानुपातिकको टिकट दिनेबित्तिकै थारुमाथि न्याय भयो भन्दै नहिँड्ने पनि उनले बताए । थारुले भने, ‘म पर्सा जिल्ला सचिव हुँ । मधेस प्रदेशको समानुपातिक थारु क्लस्टरमा राखिएको छ । तर मलाई टिकट दिनेबित्तिकै थारुमाथि न्याय भयो भन्ने होइन ।’
तपाईंले प्रचण्डको चाकरी गरेर समानुपातिकमा पर्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा थारुले भने, ‘हामीले जनयुद्ध लड्दा नै समानुपातिक र समावेशी प्रतिनिधित्व भनेका थियौं । संविधान बनाउने बेला थारुलाई अग्राधिकार दिनुपर्छ भनेका थियौं । थारुको रगतमा चाकडी होइन परिश्रम र संघर्ष मात्र छ । म २५ वर्षदेखि म माओवादीमा लागेको छु तर केन्द्रीय सदस्य समेत पाएको छैन ।’