Logo

समाजसेवी मिना राणाद्वारा सुकुम्वासी बस्तीमा न्यानो कपडा वितरण



काठमाडौं, २९ असोज । समाजसेवी एवम् नेकपा (एमाले) की नेतृ मिना राणाले सुकुम्वासी बस्तीमा पुगेर जाडोका कपडा वितरण गरेकी छिन् । आज (शनिबार) काठमाडौंको सिनामंगलस्थित बागमती नदी किनारमा बस्ने अति विपन्न सुकुम्वासी बस्तीमा राणा दम्पत्तिले न्यानो ओढ्नेसहित राहत वितरण गरेका हुन् । सिनामंगल भत्केको पुलस्थित फुटबल मैदानमा करिब ५० घर परिवारलाई जाडोबाट बच्ने कपडाहरू आफूले प्रदान गरेको राणाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिईन् ।

यसरी वितरण गरिएको कपडामा बेड म्याट्रेस, तन्ना र ब्ल्याङकेट रहेका छन् । सो क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्,‘‘डेंगु लागेर मानिसहरू हप्तौँ, महिनौँ थलिँदा पनि सरकारले केही गरेन, अब त झन् चिसो मौसम आयो, ती सुकुम्वासी परिवारहरूलाई ज्यान जोगाउन गाह्रो छ। पहिलाजस्तै चिसोले बिरामी नहुन्, न्यानोमा सुत्न पाउन् भनेर डसना, तन्ना र ब्ल्याङकेटलगायतका सामग्री गरिब परिवारलाई बाँडेका हौँ ।’ उनले आगामी दिनमा अरू ठाउँमा रहेका विपन्न परिवारलाई पनि सहयोग गर्ने स्पष्ट पारिन् ।

विगत लामो समयदेखि राणा र उनका पति वरदान शमशेर राणा समाजसेवामा सक्रिय छन् । केही महिनाअघि मिना राणाले गम्भीर रोगबाट ग्रसित झापाका एक शिशुलाई काठमाडौं ल्याएर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आफ्नो खर्चमा उपचार गराएकी थिईन् । यसको अलावा, यो दम्पत्तिले आफूहरुको जन्मदिन, वैवाहिक वर्षगाँठ, बच्चाहरुको जन्मदिनलगायतका उत्सवमा हुने खर्च कटाएर समाजसेवामा खर्चिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्