काठमाडौं, ३० असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले आफ्नो विजय निश्चित भएको बताएका छन् ।
‘म आफ्नो पुरानै क्षेत्र बारा ४ (ख) बाट उठेको छु । यसपालि अझ धेरै जनताको माया, स्नेह र प्रेम पाएको छु । म गठबन्धनको साझा उम्मेदवार हो । मधेस प्रदेशमा हाम्रो तालमेल भएको छ । त्यसैले मेरो विजयमा कुनै शंका छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सोनलले भने ।
आफूले पाँच वर्षमा गरेको काम ५० वर्षमा पनि नभएको उनले दाबी गरे । सोनलले थपे, ‘यो क्षेत्रको विकासमा कायापलट भएको छ । गाउँगाउँ सडक सञ्जालमा जोडिएका छन् । सामुदायिक भवनहरु बनेका छन् । उज्यालो अभियान चलेको छ । सिँचाइ पुर्याइएको छ । नमुना क्षेत्र भएको छ । जहाँ विकास त्यहाँ सोनल भन्ने जनतामा परेको छ । पूर्ण त राम र कृष्णबाहेक कोही छैन, थिएन ।’
प्रदेशको रोजगारी अभिवृद्धिका लागि केन्द्रीय स्तरबाटै योजना बन्नुपर्ने पनि सोनलले औंल्याए । उनले भने, ‘यहाँको मुख्य समस्या बेराजगारी हो । रुग्ण उद्योगलाई सुधारेर कसरी रोजगारी सिर्जना गर्ने भन्ने चुनौती छन् । यो काम प्रदेश विधायक वा मन्त्रीले मात्र गरेर सक्दैन ।’