Logo

चन्द्र भण्डारीप्रति व्यक्तिगत सद्भाव छः प्रदीप ज्ञवाली



काठमाडौं, ३० असोज । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी १ मा पूर्वाधार विकासले फड्को मारेको बताएका छन् ।
‘म जनताको बीचमा निरन्तर संवाद र अन्तर्क्रियामा छु । प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढेको छु । पूर्वाधार विकासमा फड्को मारिरहेको छ । गुल्मी मदन भण्डारी राष्ट्रिय राजमार्ग र कालीगण्डकी करिडोरले जोडिएको छ । कुनै खानेपानी, सडक र बिजुली बत्ती नजोडिएको वडा छैनन् । पहिले विद्यालय भवन, अस्पताल, सडक, खानेपानी आदि पूर्वाधारका माग थिए भने अहिले समयमै सर्भिस डेलिभरी र रोजगारीका कुरा उठाइरहेका छन् । सार्वजनिक विद्यालयको गुणस्तरका कुरा पनि छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले भने ।
गुल्मी १ मा पाँच दलीय गठबन्धनका उम्मेदवार चन्द्र भण्डारीप्रति आफ्नो सद्भाव भएको पनि उनले बताए । ज्ञवालीले थपे, ‘व्यक्तिगत रुपमा हामीबीच हार्दिक सम्बन्ध छ । मिल्ने साथी छौं । उहाँप्रति मेरो सद्भाव छ । तर अहिले प्रतिस्पर्धा स्वभाविक हो । हामी त्यसलाई स्वस्थ बनाउन चाहन्छौं ।’
नेपाली कांग्रेसले बाटो बिराएकाले आफ्नो विजय सुनिश्चित भएको उनको दाबी छ । ज्ञवालीले भने, ‘नेपाली कांग्रेसले बाटो बिरायो । आधाभन्दा बढी निर्वाचन क्षेत्र अरुलाई दिएको छ । उहाँको पार्टीले लिएको पार्टी सर्वथा गलत छ । उहाँ पाँचछ दलको बैसाखी टेकेर आएकाले मेरो विजय सुनिश्चित छ ।’
अर्को प्रसंगमा उपमहासचिव ज्ञवालीले नेकपा एमालेले महिला उम्मेदवारी बढाउन सक्दो कोसिस गरेको बताए । उनले भने, ‘२०७४ मा ५ जना महिला उम्मेदवार थिए, अहिले ११ जना छन् । तर यो संख्या सन्तोषजनक छैन । संख्या बढाउन हामीले सक्दो कोसिस गरेको हो । तर यो १४१ उम्मेदवारमध्ये १० प्रतिशत पनि होइन ।’



प्रतिक्रिया दिनुहोस्