Logo

क्षणिक स्वार्थका लागि नभएर धर्म, संस्कृति र सम्पदाको रक्षा गर्दै दीगो विकास गर्न मेरो उम्मेदवारीः डा. केसी (भिडियोसहित))



काठमाडौं, असोज ३० । ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले आफ्नो उम्मेदवारीले ललितपुरबाट देशको राजनीतिमा नयाँ परिवर्तनको दीयो बाल्ने बताएका छन् ।

समयको माग अनुसार युवाहरु राजनीतिमा नयाँ भिजन र नयाँ मिसन अनुसार उदाइसकेकाले अवको राजनीति युवामा केन्द्रित रहने उनको भनाई छ ।

प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासंगै कुरा गर्दै डा केसीले देशभर चलेको स्वतन्त्रको लहरले मुलुकमा नयाँ राजनीतिक अभ्यासको सुरुवात गरेको बताए । अहिले चलिरहेको नेपाली राजनीतिबाट जनताले निरासा, अभाव, समस्या मात्रै भोग्दै आएकाको र गर्व गर्न लायक नेताको अभावमा देशभर स्वतन्त्रको लहर चलेको उनको भनाई छ ।

आफूलाई राजनीतिमा आएर कुनै फाईदा लिनु नरहेको बताउदै राजनीतिलाई स्थापित गर्न आफूले उम्मेदवारी दिएको उनले बताए । जनताको आँखा खुलिसकेको भन्दै उनले पुराना अनुहारलाई अव जनताले राजनीतिबाट विदा गर्ने समय आएको समेत दाबी गरे ।

उनले धर्म, संस्कृति र सम्पदाको रक्षा गर्दै दीगो विकासको उदाहरणीय कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै पार्टीगत राजनीतिले देशको विकास गर्न नसकेको परिपेक्षमा स्वतन्त्र युवाहरु नै सम्भावना र जागरले भरिएका उम्मेदवार भएको उनको भनाई छ ।

देशको राजनीति पुरानै अनुहार वरीपरी घुमिरहेकाले बढ्दो बेरोजगारी कम गर्न, युवाहरु विदेश पलायतको क्रम घटाउन, देशमै बसेर आफ्नौ सिप, पौरख र पसिना बगाउने वतावरण निर्माणका लागि दीगो समाधानका योजनासहित चुनावी मैदानमा ओर्लीएको उनले बताए।

अहिले सम्मको राजनीति ले हामीलाई टुटाउने, फुटाउने र लडाउने खेलहरु मात्रै गरेको बताउदै उनले भने, ‘मेरो उम्मेदवारी क्षणिक स्वार्थका लागि नभएर धर्म, संस्कृति र सम्पदाको रक्षा गर्दै दीगो विकासको उदाहरणीय कार्यका लागि हो । अन्याय र अत्याचारको पोखरीलाई सुकाउन म स्वतन्त्र उम्मेदवार बनेर जनतासामु आएको छु ।’



प्रतिक्रिया दिनुहोस्