काठमाडौं, ३० असोज । सत्ता गठबन्धनमा रहेका मुख्य दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच खटपट सुरु भएको छ । खासगरी नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी निर्वाचनको लागि माधव नेपालको दलले सहयोग नगर्ने भएको छ ।
देउवा डडेल्धुराबाट लगातार सात पटक चुनाव लड्दैछन् । डडेल्धुरामा सत्ता गठबन्धनमा भएको सहमति भंग भएको छ । सो जिल्लामा नेकपा (एस) कांग्रेस (बिपी) सँग सहकार्य गरेको छ । कांग्रेस (बिपी) का वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल देउवासँग प्रतिष्पर्धामा छन् ।
डडेल्धुरामा प्रदेशसभाका दुई सिटमा एउटा माओवादी र अर्को नेकपा (एस) ले पाएको थियो । तर, नेकपा (एस) ले पाएको प्रदेशको एक सिटमा कांग्रेसले नै उम्मेदवार उठाएपछि सहमति भंग भएको हो । माधव नेपालले भने सहमति कार्यान्वयन गर्न जिल्लाका नेताहरुलाई दबाब दिएका थिए ।
तर, उनको निर्देशन जिल्ला कमिटीले लत्याएको छ । केन्द्रको सहमतिविपरित आफ्नो विरुद्धमा नेकपा (एस) लागेपछि देउवा माधव नेपालसँग आक्रोशित भएका छन् । देउवाले आफूलाई माधव नेपालले धोका दिएको बताउने गरेका छन् । file photo