काठमाडौं, ३० असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक खड्काले ०७४ को निर्वाचनमा विजयी राजेन्द्र गौतमले सो क्षेत्रको विकासको लागि उल्लेखनीय काम नगरेको टिप्पणी गरेका छन् । उनले जिल्लाको विकासको लागि राष्ट्रिय बजेट नआएको आरोप लगाए । आगामी मंसिर ४ गते हुने निर्वाचनमा खड्का संखुवासभाबाट प्रतिनिधिसभाको लागि सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
आज (आइतबार) संखुवासभामा प्राइम टिभीको ‘मंसिर ४, चुनावी महासंग्राम’ कार्यक्रमअन्तर्गत पत्रकार ऋषि धमलासँग कुरा गर्दै खड्काले जिल्लाको विकासको लागि गएको पाँच वर्षमा निर्वाचित जनप्रतिनिधिले केही पनि नगरेको आरोप लगाए । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा केही पनि काम नभएको उनको भनाई छ ।
तर, आफूले एकै दिन संखुवासभामा चार वटा पुलसम्म शिलान्यास गरेको स्मरण गराए । नेता खड्काले आगामी निर्वाचनपछि आफ्नो दल झण्डै झण्डै बहुमतको नजिक पुग्ने दाबी गरेका छन् । उनले चुनावपछि सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सहमतिबाट टुँगो लगाईने विश्वास दिलाए । उनले आफ्नो दलले ११८ देखि १२० सिटसम्म जित्ने सनसनीपूर्ण खुलासा गरेका छन् ।
https://www.facebook.com/primetimestvnepal/videos/1859626677709747